१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

जैविक खेती प्रवर्द्धन गर्न गड्यौंला मल उत्पादनमा जोड दिंदै पौवादुङमा

रासायनिक मलको प्रयोग घटाउँदै जैविक खेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ। महिला विकास बोर्ड मार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम अन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ महिला समूहले गड्याैंला मल उत्पादन थालेका छन्। महिलाहरूलाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविक खेती प्रणालीमा जोड दिने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताइन्।

महिलाहरूलाई अनुदानमा आवश्यक सहयोग गरेर गत वर्षबाट कार्यक्रम थालिएको उनको भनाइ छ। “महिलाहरूलाई उद्यमशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं” उपाध्यक्ष राईले भनिन्, “यो कार्यक्रम सञ्चालन भएपछि यहाँका १९ महिला समूह गड्यौंला मल उत्पादनमा लाग्नुभएको छ। हामीले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेका छौं।”

यो कार्यक्रम आबद्ध महिला समूहले उत्पादन गरेको गड्याैंला मल गाउँपालिकाले नै खरिद गरेर अन्य किसानलाई वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए।

खरिद गरिएको मल अन्य किसानलाई ५० प्रतिशत अनुदानमा वितरण भइरहेको उनले बताए। “रासायनिक मलको प्रयोग घटाउन हामीले गड्यौंला मल उत्पादनको कार्यक्रम सञ्चालन गरिरहेका छौं” अध्यक्ष राईले भने, “किसानले उत्पादन गरेको मल खरिद गरेर अन्य किसानलाई अनुदानमा दिन्छौं। हाम्रो मुख्य उद्देश्य नै अर्गानिक उत्पादनमा जोड दिनु हो।”

किसानले उत्पादन गरेको गड्याैंला मल प्रतिकेजी २२ रूपैयाँमा गाउँपालिकाले खरिद गरी दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए।

यसरी खरिद गरिएको मल अन्य इच्छुक किसानलाई माग आधारमा अनुदानमा वितरण हुँदै आएको उनको भनाइ छ।  

प्रकाशित: ७ कार्तिक २०८२ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App