दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत जुम्लामा १७ जना गणक र तीन जना सुपरिवेक्षक परिचालन गरिएको छ।
बुधबारदेखि देशव्यापी रूपमा सुरु भएको यस अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा स्थलगत तथ्याङ्क सङ्कलन सुरु गरिएको हो।
आगामी असार ७ गतेसम्म सञ्चालन हुने गणनाका लागि जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरी कुल आठवटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक खटाइएको जिल्ला आर्थिक गणना अधिकारी दिपेन्द्रसिंह धामीले जानकारी दिए।
पहिलो आर्थिक गणना २०७५ मा गरिएको थियो। नेपालस्तरीय औद्योगिक वर्गीकरणका २१ मध्ये १८ वटा खण्डका आर्थिक क्रियाकलाप यसमा समेटिनेछन्। खण्ड ‘ए’ अन्तर्गत कृषि, वन तथा मत्स्यपालनमा दर्ता भएका प्रतिष्ठान मात्र समावेश गरिनेछ। २०७५ को आर्थिक गणनाअनुसार जुम्लामा १ हजार ५ सय ६९ व्यापारिक, १ हजार २ सय ४६ सेवा र २ सय ६३ उद्योग प्रतिष्ठान सञ्चालनमा थिए। जसमध्ये चन्दननाथ नगरपालिकामा १ हजार ५८, गुठिचौरमा २ सय १०, कनकासुन्दरीमा ३ सय ७४, तिलामा ३ सय ५८, पातारासीमा ३ सय ८, सिँजामा २ सय ९२, तातोपानीमा २ सय ६७ र हिमामा २ सय ११ प्रतिष्ठान रहेको तथ्याङ्कमा उल्लेख छ।
उक्त गणनाले महिलाको आर्थिक सहभागिता उल्लेखनीय रहेको देखाएको थियो। महिलाको स्वामित्वमा २ लाख ४७ हजार ८ सय ८० प्रतिष्ठान सञ्चालनमा रहेका छन् भने २ लाख ७३ हजार ४ सय ३६ प्रतिष्ठान महिलाले व्यवस्थापन गरिरहेका छन्। तर ५२.४ प्रतिशत प्रतिष्ठानले कारोबारको लेखा नराख्ने तथ्यले कर प्रणालीमा चुनौती देखाएको छ। देशभर ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठानमध्ये ४ लाख ६२ हजार ६ सय ५ मात्रै दर्ता भएका छन् भने ४ लाख ६० हजार ४ सय २२ अझै अनौपचारिक रूपमा सञ्चालनमा छन्।
त्यस्तै ४ लाख ७२ हजार ३ सय ५० प्रतिष्ठानले कारोबारको अभिलेख नराख्ने गरेका छन्। यी प्रतिष्ठानमा कुल ३२ लाख २८ हजार ४ सय ५७ जना संलग्न छन्। जिल्ला आर्थिक गणना समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ। समितिमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख तथा व्यावसायिक संघसंस्थाका प्रतिनिधि सदस्य रहने प्रावधान छ।
प्रकाशित: २ वैशाख २०८३ १४:१३ बुधबार





