७ आश्विन २०८३ बुधबार
image/svg+xml
अर्थ

खाद्यले खसी-बोका नबेच्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दसैंमा खसी, बोका र च्यांग्रा खरिद गरी बिक्री नगर्ने भएको छ। व्यापारमा घाटा हुने, खसी–बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्षझैं यस वर्ष पनि दसैंलाई लक्ष्य गरी खसी, बोका र च्यांग्रा बिक्री नगर्ने भएको हो।

विगतका वर्षमा दसैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य अकासिने गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी, बोका र च्यांग्रा संकलन गरी काठमाडौं ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। त्यसका लागि कम्पनीले करिब तीनदेखि चार करोड रुपैयाँसम्म बजेट छुट्याउने गरेको थियो।

कम्पनीका सूचना अधिकारी माधव मिश्रले यस वर्ष खसी, बोका तथा च्यांग्रा खरिद–बिक्रीका लागि कुनै कार्यक्रम र बजेट नरहेको जानकारी दिए। उनका अनुसार गत वर्ष पनि कम्पनीले खसी–बोका तथा च्यांग्रा बिक्री गरेको थिएन। ‘यो वर्षको दसैंमा खसी–बोका र च्यांग्रा खरिद–बिक्री गर्ने कुनै योजना छैन। यसका लागि कार्यक्रम र बजेटसमेत छैन’, मिश्रले भने।

विभिन्न ठाउँबाट खसी–बोका संकलन गरी काठमाडौं ल्याएर बिक्री गर्दा कम्पनीलाई घाटा हुने गरेको उनले बताए। संकलन गरेर ल्याइएका खसी–बोका बिक्री गर्नसमेत कठिन हुने गरेको उनको भनाइ छ।

मिश्रका अनुसार खसी–बोकाको बजार अस्थिर हुने, कतिपय अवस्थामा लामो समयसम्म बिक्री नहुने र हरेक वर्ष घाटा व्यहोर्नुपर्ने जोखिम रहेकाले यस वर्ष खरिद–बिक्रीको कार्यक्रम अघि नबढाइएको हो।

यसैगरी लगातारको वर्षाका कारण सडक बिग्रिँदा विभिन्न ठाउँबाट खसी–बोका तथा च्यांग्रा संकलन गरी काठमाडौं ल्याउनसमेत कठिनाइ भएको कम्पनीले जनाएको छ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि राजधानी जोड्ने विभिन्न सडक प्रभावित भएकाले ढुवानीमा थप समस्या भएको मिश्रले बताए।

‘गत वर्षजस्तै यस वर्ष पनि सडकको अवस्था अनिश्चित छ। बाटो बिग्रिँदा ढुवानीमा धेरै समय लाग्ने, बाटोमै खसी–बोका मर्ने तथा तौल घट्ने समस्या हुन सक्छ’, उनले भने।

सरकारले उपभोक्ताको हितलाई ध्यानमा राखेर निर्देशन दिएमा भने कम्पनीले खसी–बोका खरिद गरी बिक्री गर्नुपर्ने अवस्था आउन सक्ने मिश्रले बताए। विगतमा खाद्य कम्पनीले बजार हस्तक्षेप गर्ने उद्देश्यले हरेक वर्ष दसैंमा खसी–बोका तथा च्यांग्रा काठमाडौं ल्याएर लागतका आधारमा मूल्य निर्धारण गरी बिक्री गर्दै आएको थियो । कम्पनीले सहुलियत दरमा बिक्री सुरु गरेपछि निजी क्षेत्रले समेत अत्यधिक मूल्य बढाएर बिक्री गर्न नसक्ने अवस्था बन्ने गरेको थियो।

यस वर्ष पनि खाद्य कम्पनी बजारमा नआए निजी क्षेत्रका व्यवसायीले आफूखुसी मूल्य निर्धारण गर्न सक्ने र त्यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्न सक्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ। सरकारी स्वामित्वको कम्पनीले व्यापारमा घाटा हुने कारण देखाएर उपभोक्ता हितसँग जोडिएको बजार हस्तक्षेपबाट पछि हट्न नहुने उनीहरूको तर्क छ।

यस पटकको दसैं सुरु हुने घटस्थापनाको दिन असोज २५ गते परेको छ। दसैं सुरु हुन अब १९ दिन बाँकी छ। विगतका वर्षमा खाद्य कम्पनीले दसैं लक्षित कार्यक्रमअन्तर्गत देशका विभिन्न ठाउँबाट करिब चारदेखि पाँच हजार खसी, बोका तथा च्यांग्रा काठमाडौं ल्याएर बिक्री गर्दै आएको थियो।

कम्पनीले लागत बढी परे पनि सहुलियत दरमा बिक्री गरी बजार मूल्य नियन्त्रणमा सहयोग गर्दै आएको थियो। यस वर्ष पनि उपभोक्ताले खाद्य कम्पनीबाट निजी बजारभन्दा केही सस्तोमा मासु किन्न पाउने अपेक्षा गरेका थिए।

प्रकाशित: ७ आश्विन २०८३ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App