सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले प्रतिनिधिसभामा बोलेको ‘कम्युनिस्ट भाष्य’ शब्दप्रति नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नियमापत्ति जनाएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै प्रसाईंले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ (यूएन) भ्रमण र सम्बोधन ‘कम्युनिस्ट भाष्य’ जस्तो नभई विश्व समुदायलाई नेपालको मुद्दाप्रति समानुभूति गराउने किसिमको हुनुपर्ने बताएका थिए।
प्रसाईंले अन्तर्राष्ट्रिय अदालतका फैसला शक्तिशाली राष्ट्रहरूले समेत कार्यान्वयन नगरेका उदाहरण प्रस्तुत गर्दै नेपालको कूटनीतिक प्रस्तुति तथ्य र विज्ञानमा आधारित हुनुपर्ने बताएका थिए।
उनले मित्रराष्ट्र फिलिपिन्स र चीनबीचको समुद्री सीमासम्बन्धी विवादमा अन्तर्राष्ट्रिय अदालतले फिलिपिन्सको पक्षमा फैसला गरे पनि चीनले उक्त निर्णयलाई अस्वीकार गरेको उदाहरण दिए। त्यस्तै, सिन्धु जलसन्धिसम्बन्धी अन्तर्राष्ट्रिय अदालतको निर्णय भारतले समेत स्वीकार नगरेको प्रसाईंको भनाइ थियो।
‘आजको विश्व राजनीति आर्थिक शक्तिका वरिपरि घुमिरहेको छ। हामीले जलवायु न्याय र क्षतिपूर्ति माग्ने नै हो, तर नम्र भएर, शालीन भएर र विज्ञान तथा तथ्यका आधारमा तर्कसंगत भएर माग्नुपर्छ,’ प्रसाईंले भने।
प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमण र सम्बोधनतर्फ संकेत गर्दै उनले नेपालको जलवायु संकट र हिमालय संरक्षणको विषयलाई विश्व समुदायसमक्ष प्रभावकारी रूपमा उठाउनुपर्ने बताए।
‘प्रधानमन्त्रीको सम्बोधन खाली हामीले नगरेको अपराधको दुःख पायौँ भनेर गाली गर्ने र मित्रराष्ट्रहरूप्रति आक्रोश पोख्ने ‘कम्युनिस्ट भाष्य’ जस्तो होइन कि विश्वलाई यस विषयमा समानुभूति गराउनेतर्फ लक्षित होस्,’ प्रसाईंले भने।
प्रसाईंको अभिव्यक्तिमा सांसद पार्वती विकले नियमापत्ति जनाएकी हुन्। उनले ‘कम्युनिस्ट भाष्य’ भन्ने शब्दप्रति आपत्ति जनाउँदै उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेकी छन्।
प्रकाशित: ७ आश्विन २०८३ १२:०४ बुधबार




-600x400.jpg)
