भारतीय पर्यटकको आगमन उल्लेख्य रुपमा बढेसँगै पर्यटकीय राजधानी पोखराको पर्यटन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउनेबारे छलफल थालिएको छ।
त्यसका लागि उद्योग तथा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, सुरक्षा निकाय तथा पर्यटन व्यावसायी एकअर्कासँग छलफलमा जुटेका छन्। यो बेला विशेषगरी भारतीय पर्यटकको संख्या उल्लेख्य रुपमा बढेपछि पर्यटन क्षेत्र चलायमान बनेको छ।
पाहुना आगमन ह्वात्तै बढेसँगै होटल, रेष्टुरेन्ट, यातायात तथा अन्य पर्यटन व्यावसायमा समेत सकारात्मक प्रभाव पारेको व्यावसायीले बताईरहेका छन्। तर पर्यटकको बढ्दो चापसँगै ट्राफिक व्यवस्थापन, पार्किङ, सुरक्षा, सूचना प्रवाह तथा सेवा व्यवस्थापनका केही चुनौती पनि देखिन थालेको उनीहरुको भनाई छ। यही अवस्थालाई मध्यनजर गर्दै उद्योग तथा पर्यटन मन्त्रालयले सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिसँग व्यवस्थापनका उपाय पत्ता लगाउनका लागि छलफल थालेको हो।
गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पोखराको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउन सबैको पहल जरुरी रहेको बताईन। उनले पर्यटकको यो भीडभाडलाई व्यवस्थापन गर्नेगरि कार्ययोजना निर्माण गरेर कार्यान्वयनमा लैजाने बताईन। छलफलका क्रममा पोखरामा बढ्दो पर्यटक आगमनलाई व्यवस्थापन गर्ने, पर्यटकको आतिथ्यता र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने, ट्राफिक व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्ने तथा पर्यटक सुरक्षालाई प्राथमिकतामा राख्ने विषयमा विशेष जोड दिइएको थियो।
त्यससँगै लेकसाइड तथा ड्यामसाइड, पृथ्वीचोक, क्षेत्रको पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयलाई बढि महत्व दिइएको थियो। पाहुना लिएर भित्रिएका पर्यटकको सवारी साधनका लागि पर्याप्त पार्किङको व्यवस्था गर्न स्थानीय संघ संस्था, समाजघर तथा निजी क्षेत्रबाट सञ्चालित पार्टी प्यालेससँग आवश्यक समन्वय गर्ने विषयमा छलफल भएको पनि सरोकारवालाले बताए।
सवारी आवागमन व्यवस्थापन, सडक सुरक्षा तथा ट्राफिक निगरानीलाई प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोग बढाउने प्रस्तावसमेत अघि सारिएको छ। लेकसाइड र ड्यामसाइड क्षेत्रमा सिसिटिभी क्यामेरा, अटोमेटिक नम्बर प्लेट रिडर (एएनपीआर) तथा फेस रिडर (एफआर) क्यामेरा तत्काल जडान गर्न आवश्यक रहेको गण्डकी प्रदेश ट्राफिक कार्यालय प्रमुख, प्रहरी उपरीक्षक गोविन्द काफ्लेले बताए। प्रविधिमार्फत निगरानी गर्न सकेमा सवारी व्यवस्थापन अब्बल हुने उनको भनाई छ।
पोखरा तथा मुक्तिनाथ भ्रमण गर्ने, धार्मिक पर्यटकका लागि ठाउँठाउँमा छुट्टै विश्राम गृह (रेष्ट हाउस) निर्माण गर्ने, पर्यटन सूचना केन्द्र स्थापना गर्ने तथा पर्यटक लक्षित सूचना तथा सहायता कक्ष सञ्चालन गर्ने विषयमा पनि छलफल भएको सहभागिले बताएका थिए। यसका अतिरिक्त पर्यटकको सहज यात्राका लागि प्रज्ञापनपत्र तथा रुट परमिटको प्रभावकारी जाँच व्यवस्था, सूचना प्रवाह प्रणाली सुदृढीकरण तथा आपत्कालीन सहयोग सेवाको विस्तारमा समेत जोड दिनुपर्ने कास्कीक प्रहरी प्रमुख एसपी नविन कार्कीले बताए।
पछिल्लो समय सामाजिक सञ्जालमा पोखरासम्बन्धी फैलिएका नकारात्मक सामग्रीलाई चिर्न सकारात्मक सन्देशमूलक सामग्री निर्माण तथा प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्ने पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछानेले बताए। पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक गन्तव्य तथा आतिथ्यतालाई उजागर गर्ने प्रचार सामग्री उत्पादन गरी देश तथा विदेशमा प्रभावकारी रुपमा प्रवर्द्धन गर्नुपर्नेमा छलफलका सहभागिले बताए।
पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले पछिल्लो समय पाहुना आगमन बढेसँगै व्यवस्थापनमा केही चूनौती थपिएपनि त्यसलाई व्यवस्थापन गर्नुपर्ने बताए। छलफलले पर्यटन व्यवस्थापन, ट्राफिक सुधार, पार्किङ सुविधा विस्तार, सुरक्षा प्रवर्द्धन तथा पर्यटकमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाउने निष्कर्ष निकालेको छ। भट्टराईले पर्यटक आगमनमा भएको वृद्धिले पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा प्रदान गरेको बताए।
प्रकाशित: ८ असार २०८३ १८:०६ सोमबार





