चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालले सबैभन्दा धेरै डिजेल आयात गरेको छ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा १ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको डिजेल आयात भएको छ। नौ महिनामा १० लाख ३५ हजार ३३ किलोलिटर डिजेल आयात गरिएको छ। यसबाट सरकारले ४२ अर्ब ५१ करोड ९२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
दोस्रो स्थानमा कच्चा सोयाविन तेल आयात भएको छ। विभागका अनुसार नौ महिनामा ५९ करोड ८४ लाख ६८ हजार २१५ लिटर कच्चा सोयाविन तेल आयात भएको छ। यसका लागि ९६ अर्ब ७२ करोड २९ लाख २६ हजार रुपैयाँ विदेशिएको छ भने सरकारले ४ अर्ब २३ करोड १० लाख १४ हजार रुपैयाँभन्दा बढी राजस्व उठाएको छ।
तेस्रो स्थानमा पेट्रोल रहेको छ। समीक्षा अवधिमा ५ लाख ६८ हजार ३६६ किलोलिटर पेट्रोल आयात भएको छ। यसबापत ५० अर्ब ३९ करोड ५९ लाख ६७ हजार रुपैयाँ बाहिरिएको छ। पेट्रोल आयातबाट सरकारले ३२ अर्ब ३१ करोड ५ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
चौथो धेरै आयात हुने वस्तु स्पन्ज आइरन रहेको छ। नौ महिनामा करिब १ अर्ब केजी स्पन्ज आइरन आयात हुँदा ४२ अर्ब ६२ करोड ९४ लाख ६२ हजार रुपैयाँ विदेशिएको छ। यसबाट सरकारले ६ अर्ब २ करोड ४१ लाख ९७ हजार रुपैयाँ बराबरको राजस्व उठाएको छ।
पाँचौँ स्थानमा खाना पकाउने एलपी ग्यास रहेको छ। यस अवधिमा ४१ करोड १० लाख ८१ हजार ४२४ केजी एलपी ग्यास आयात भएको छ। सो बापत ४१ अर्ब ६४ करोड ९८ लाख ५६ हजार रुपैयाँभन्दा बढी रकम विदेशिएको छ। एलपी ग्यास आयातबाट सरकारले ७ अर्ब ७६ करोड ७९ लाख ५ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको विभागको तथ्यांकले देखाएको छ।
प्रकाशित: ७ वैशाख २०८३ १८:१७ सोमबार





