१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

राहदानी थन्क्याएर कोदालो समातेका दिनेश: जसले गाउँमै खडा गरे १३ हजार कालिजको फर्म

त्रिभुवन विमानस्थलमा विदेश जाने युवाहरूको लाम लागिरहँदा तनहुँको शुक्लागण्डक-१, तल्लीपोखरीका दिनेश ढकाल भने आफ्नै गाउँको माटोमा सुन फलाइरहेका छन्।

तीन वर्षअघि जापान उड्ने तयारीमा रहेका दिनेशले गाउँमै व्यावसायिक कृषिको सम्भावना देखे। उनले पासपोर्ट थन्क्याएर कोदालो समाए। नतिजा रुवरुप आज उनको बारीमा सुन्तला लटरम्म छन् भने फर्ममा १३ हजार कालिज खेलिरहेका छन्।

दिनेश मात्र होइन उनका बुबा पिताम्बर आमा तारा र श्रीमती सदिक्षासहित सिंगो ढकाल परिवार नै अहिले ‘डिटिपिएस कृषि फार्म’ मार्फत व्यावसायिक कृषिमा रमेको छ।

२०४० सालदेखिको पुर्ख्यौली सुन्तला खेतीलाई आधुनिकीकरण गर्दै उनीहरूले २०७४ देखि यसलाई व्यावसायिक कम्पनीको रुप दिएका हुन्।

कुल २८ रोपनी क्षेत्रफलमा फैलिएको ढकाल परिवारको फर्ममा अहिले सुन्तला, कालिज, अदुवा र अकबरे खुर्सानीको एकीकृत खेती भइरहेको छ।

१४ रोपनीमा फैलिएको सुन्तला बगानमा १ हजार बोट छन्। २५० बोटले फल दिँदा वार्षिक ५/६ लाख आम्दानी भइरहेको छ। अझ चाखलाग्दो त के छ भने, सुन्तला बगानभित्रै अकबरे खुर्सानी र अदुवा रोपेर उनीहरूले दोहोरो फाइदा लिइरहेका छन्।

खुर्सानीबाट मात्रै वार्षिक ३ लाखसम्म आम्दानी हुने गरेको दिनेश बताउँछन्।

२०७६ सालमा १०० वटा कालिजबाट सुरु भएको व्यवसाय अहिले १३ हजारको सङ्ख्यामा पुगेको छ। ‘जापान जाने सोच बदल्दा यहाँसम्म आइपुगियो,’ दिनेश भन्छन्, ‘स्वदेशमा मात्र होइन, चीन र दुबईजस्ता देशमा कालिजको माग उच्च छ। राज्यले अलिकति साथ दिने हो भने म एक्लैले १५० जनालाई रोजगारी दिन सक्छु।’

हाल उनले परिवारबाहेक ३ जनालाई पूर्णकालीन रोजगारी दिएका छन्। भाले कालिज २५०० र पोथी १५०० रुपैयाँमा फार्मबाटै बिक्री हुन्छ।

गाउँमा बसेर केही गर्छु भन्नेलाई राज्यले उपेक्षा गरेको गुनासो ढकाल परिवारको छ। लामो समयदेखि व्यावसायिक खेती गरे पनि सरकारी तर्फबाट कुनै प्राविधिक सहयोग नपाएको दिनेशको दुखेसो छ।

‘प्राविधिक सहयोगका लागि पटक/पटक फोन गर्दा पनि सम्बन्धित निकायले चासो दिँदैनन्,’ उनी भन्छन्, ‘युवालाई कृषिमा टिकाइराख्ने हो भने भाषणमा होइन, व्यवहारमा प्रोत्साहन चाहिन्छ।’

प्रकाशित: ८ पुस २०८२ १५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App