१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

इन्धनमा दैनिक ८८ करोड घाटा

करको भार घटाएर उपभोक्तालाइ राहात दिन माग

पश्चिम एसियामा उत्पन्न अशान्तिका कारण पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि हुँदा नेपाली उपभोक्ता मारमा परेका छन्। उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् भने नेपाल आयल निगमले पनि दैनिक सरदर करिब ८८ करोड रुपैयाँ घाटा व्यहोरिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको उच्च मूल्य वृद्धि र सरकारले पेट्रोलियम पदार्थमा धेरै कर लिँदा उपभोक्ता मारमा परेका हुन्। होर्मुज नाका बन्द हुनुका साथै खाडी क्षेत्रका तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि त्यसको असर नेपालमा पनि परेको हो।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त मूल्यअनुसार १५ दिनमा १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुने नेपाल आयल निगम (एनओसी) का प्रवक्ता मनोज ठाकुरले बताए। ‘विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ,’ ठाकुरले भने, ‘आइओसीबाट बढेर आएअनुसार मूल्य समायोजन नहुँदा निगमले ठुलो घाटा व्यहोरिरहेको छ।’

ठाकुरका अनुसार मार्च १६ देखि ३१ सम्म निगमले करिब पाँच अर्ब घाटा व्यहोरेको छ।

आइओसीबाट ३१ मार्च अर्थात् मंगलबार पेट्रोल प्रतिलिटर ४१.६० पैसा, डिजल प्रतिलिटर ९४.९३ पैसा, हवाई इन्धन प्रतिलिटर एक सय २३ रुपैयाँ ८ पैसा र एलिपिजी ग्यास प्रतिसिलिन्डर एक सय ९० रुपैयाँ ३६ पैसा बढेर आएको एनओसीले जनाएको छ। ‘मूल्य बढेर आए पनि हवाई इन्धनबाहेक अरुको मूल्य समायोजन गरेका छैनौं,’ ठाकुरले भने, ‘पहिलेदेखि नै घाटामा बेचेकोमा अहिले झन् बढेको छ।’

अहिले पेट्रोलमा प्रतिलिटर ४७ रुपैयाँ १२ पैसा, डिजेलमा प्रतिलिटर एक सय ३३ रुपैयाँ ४५ पैसा र एलपिजी ग्यासमा प्रतिसिलिन्डर चार सय १६ रुपैयाँ ३७ पैसा घाटा खाएर बिक्री गरिरहेको एनओसीले बताएको छ। मूल्य बढेर आएपछि निगमले हवाई इन्धनको मूल्य बढाए पनि पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २४ रुपैयाँले वृद्धि गरी एक सय २७ रुपैयाँबाट दुई सय ५१ रुपैयाँ पुर्‍याएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ८१९ अमेरिकी डलरले बढाएर १७८५ डलर पुर्‍याइएको छ।

निगमको मूल्य स्थिरीकरण कोषमा करिब १९ अर्ब रुपैयाँ छ। घाटाको रकम यही कोषबाट निगमले व्यहोर्दै आएको छ। यो एक महिनाको अवधिमा यो सबै रकम सकिने निगमको दाबी छ। ‘मूल्य समायोजन नहुने हो भने अबको १५ दिनमा कोषको सबै रकम सकिन्छ,’ ठाकुरले भने।

निगमले गत साता (मार्च २५) मा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलमा १० रुपैयाँ मूल्य बढाएको थियो। अहिले काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य एक सय ७२ रुपैयाँ लिटर र डिजेलको मूल्य एक सय ५२ रुपैयाँ लिटर छ।

सरकारी भन्सार तथा प्रज्ञापन शुल्क/कर, सडक मर्मत सम्भार शुल्क/कर, प्रदूषण शुल्क/कर, पूर्वाधार कर, मूल्य अभिवृद्धि कर, मूल्य स्थिरीकरण कोषका लागि सरकारले पेट्रोलमा प्रतिलिटर करिब ६२ रुपैयाँ र डिजेलमा करिब ४३ रुपैयाँ कर तथा राजस्व लिँदै आएको छ। सरकारले उच्च कर लिने भएकाले कर समायोजन गरेर मूल्य बढाउन नहुने उपभोक्ता अधिकारकर्मी बताउँछन्। नयाँ सरकारले उपभोक्तालाई राहात दिन कर घटाउनुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। ‘जनताले अब इन्धनको मूल्यवृद्धि धान्न सक्दैनन्,’ तिमल्सिनाले भने, ‘सरकारले कर घटाएर उपभोक्तालाई राहत दिनुपर्छ।’

निगमका अधिकारी भने अहिलेकै अवस्थामा मूल्य समायोजन नगर्ने हो भने निगमले धान्न नसक्ने बताउँछन्। सरकारले पूर्वाधार, सडक मर्मत सम्हार कर घटाए उपभोक्तालाई राहत पुग्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट बताउँछन्। ‘अहिलेसम्म त मूल्यस्थिरीकरण कोषको रकम प्रयोग गरेका छौं,’ भट्टले भने, ‘अब धान्न कठिन हुने देखिएको छ।’

निगमका अधिकारीले केही भार उपभोक्ता, केही निगम र सरकारको कुनै फन्डबाट रकम व्यवस्था गरेर सन्तुलन कायम गर्न सकिने तर्क अघि सारेका छन्। अन्यथा इन्धन आपूर्तिमा चुनौती सिर्जना हुने निगमको दाबी छ। उपभोग कम गर्न पनि निगमले आग्रह गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि हुँदै गएकाले आउँदा दिनमा अझ बढ्ने छ।

निगमले आइओसीबाट इन्धन ल्याएर बिक्री गर्दै आएको छ। भारत सरकारले आफ्ना उपभोक्तालाई व्यावसायिक एलपिजी ग्यास सिलिन्डरको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। दिल्लीमा १९ केजी क्षमताको व्यावसायिक एलपिजी सिलिन्डरको मूल्य एक सय ९५.५० भारुले बढेर दुई हजार ७८ पुगेको छ। त्यस्तै ५ केजी एफटिएल सिलिन्डर ५१ भारुले महँगिएर पाँच सय ४९ कायम भएको छ।

हवाई भाडामा उच्च वृद्धि

वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई कम्पनीले पनि भाडा बढाएका हुन्।

निगमले मंगलबारदेखि लागु हुनेगरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर करिब दोब्बर वृद्धि गर्दै एक सय २५ रुपैयाँबाट दुई सय ५१ रुपैयाँ पुर्‍याएको छ। हवाई इन्धनको मूल्य बढ्दा भाडा दर पनि सोहीअनुसार समायोजन गर्नुपरेको वायु सेवा सञ्चालक संघ नेपालका प्रवक्ता मुरलीधर जोशीले बताए। ‘इन्धनको मूल्य बढ्दा वा घट्दा भाडा दर स्वतः समायोजन हुन्छ,’ उनले भने।

इन्धन मूल्य वृद्धि भएसँगै विभिन्न गन्तव्यका उडान भाडामा उल्लेख्य वृद्धि भएको छ। काठमाडौं–धनगढी रुटमा अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ र न्यूनतम भाडा १४ हजार ४ सय ५७ रुपैयाँ छ। काठमाडौं–नेपालगन्ज उडानमा न्यूनतम १० हजार ८ सय रुपैयाँ र अधिकतम १७ हजार १ सय ४८ रुपैयाँ भाडा छ। काठमाडौं–भद्रपुर न्यूनतम भाडा ९ हजार ९८९ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै काठमाडौं–विराटनगर उडानमा न्यूनतम भाडा ८ हजार ८८ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५ रुपैयाँ, काठमाडौं–जनकपुर उडानमा  न्यूनतम भाडा ५ हजार ५ सय ६५ र अधिकतम ७ हजार ७० रुपैयाँ, काठमाडौं–पोखरा उडानमा न्यूनतम भाडा ५ हजार १५ रुपैयाँ र अधिकतम ८ हजार ६ सय ५ रुपैयाँ, काठमाडौं–भैरहवा उडानमा न्यूनतम भाडा ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: १९ चैत्र २०८२ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App