चुरे संरक्षणको अभावमा तराईमा खडेरीले संकटग्रस्त हुँदा सिन्धुलीमा चुरे संरक्षणमा आएको बजेट फिर्ता भएको छ। जनशक्ति अभावमा चुरे उत्थानशील आयोजनामा आएको बजेट फिर्ता भएको हो।
सिन्धुलीको तीनपाटन गाउँपालिका, कमलामाई नगरपालिका र दुधौली नगरपालिकाभित्र चुरेका संवेदनशील भूभाग छन्। चुरे क्षेत्रमै दर्जनौँ खहरे खोला पर्छ। ति खहरेले बर्सेनि कटान, डुबान गरी स्थानीयलाई बबन्डरनै मच्चाउने गरेको छ। सिन्धुली जिल्लाको पूर्वपश्चिम तराईका सिमानासँग जोडिएको चुरे क्षेत्रबाट निस्कने खहरे सिन्धुलीवासीका लागि अभिसाप नै भएको छ।
चुरे विनाशले हजारौँ किसान सुकुमबासी नै भएका छन्। चुरे क्षेत्रमा भएको वन विनाश चुरे क्षेत्रको जंगलको संरक्षणको अभावलेनै पानीका मुहान सुक्न थालेको छ भने एक्कासी आउने खहरेले भएका खेतबारी कटान गरी बर्सेनि नोक्सान गरेको छ। चुरेको शिर सिन्धुलीका विभिन्न स्थानमा छन्। ति शिरलाई संरक्षण गर्न नसक्दा तराईका जिल्लामा समेत असर छर्लङ्ग देखिएको छ। यसको प्रत्यक्ष असरले मध्य बर्खामा समेत तराईका खेत बाझै छन्।
चुरेको अत्यधिक विनाश बढ्दै गएपछि चुरे संरक्षण गर्न विभिन्न दातृ निकायको सहयोगमा चुरे उत्थानशील आयोजनाले सिन्धुलीमा काम गरिहेको छ तर सरकारले उपलब्ध गराएको बजेट खर्च गर्न नसकेकर फिर्ता गर्नुपर्ने अवस्थामा कार्यालय छ। चुरे उत्थानशिल आयोजनाका अनुसार गत आर्थिक वर्ष ०८१/८२ मा ९ करोड बढी बजेट कामै गर्न नसकेर फिर्ता गरिएको छ।
करिब २२ करोड बजेटमा ९ करोड ७२ लाख विकास बजेट खर्च नभएको उक्त कार्यालयले जनाएको छ। चुरे संरक्षणमा आएको बजेट मध्ये ९ करोड बढी बजेट खर्च हुन नसकेको कार्यालय प्रमुख चुणामणी खतिवडाले स्वीकार गरे। 'जनशक्तिको अभाव, फिल्डमा विवाद, जिल्ला दररेट कानुनी झन्झट जस्ता कारणले हामीले पूरा काम गर्न सकेनौँ,' उनले भने, 'चुरे क्षेत्रको संरक्षणमा आएको बजेट फिर्ता गर्नु परेको छ।'
चुरे उत्थानशील आयोजनाले केही स्थानमा बासका बेरा लगाउने, खहरे नियन्त्रणमा ग्याविन तार जाली भर्ने, पोखरी निर्माण गर्ने जस्ता कार्य गरेको जनाएको छ। यस्तै डिभिजन वन कार्यालय सिन्धुलीले समेत चुरेको संरक्षणमा झन्डै अढाइ करोड बढी बजेट खर्च गरेको जनाएको छ। 'हाम्रो कार्यालयमा आएको ससर्त बजेट हो, हामीले पुर्ण रुपमा केन्द्रीय निर्देशन अनुसारकै काम गरेर खर्च गरेका छौँ,' कार्यालय प्रमुख रामकुमार भण्डारीले नागरिकसँग भने।
तराईसँग जोडिएको र यातायातको पनि सुविधा भएपछि सिन्धुलीका चुरे क्षेत्रको वन समेत पछिल्लो समय चोरी तस्करीको चपेटामा पर्दै आएको छ। वन विनासले बर्सेनि चुरेबाट नयाँ–नयाँ खहरे जन्मिन्छ दुधौलीका एक स्थानीयले भने, ‘चुरेबाट निस्किने असङ्ख्य खहरेहरूले वर्षातमा यस क्षेत्रका बासिन्दाहरूको जनजीवन अस्तव्यस्त बनाउने गर्दछ। हिउँदमा पानीको थोपा पनि नहुने वर्षातमा गड्गडाएर नियन्त्रण नै गर्न नसकिने गरी आउने यी खहरेको क्षति रोक्न चुरेको संरक्षण गरिनु पर्दछ।’
चुरे संरक्षणका लागि जलाधार कार्यालय, राष्ट्रपति चुरे संरक्षण आयोजना, अन्य गैर सरकारी संघसंस्थाहरूले समेत बर्सेनि बजेट खर्च गर्दै आएका छन्। लाखौँ बजेट बर्सेनि खर्च भएको देखिए पनि चुरे संरक्षण नहुँदा बर्सेनि संकट देखा पर्दे गएको छ। चुरेबाट निस्कने खहरेहरूले कमला नदी, चदाहा खोला, मरिण खोला लगायत खोला बर्सेनि एक्कासी उर्लने र त्यसको क्षति धेरै हुने स्थानीयको भनाइ छ।
प्रकाशित: ९ श्रावण २०८२ १४:२२ शुक्रबार





