गत वर्ष वर्षायाममा बाढीले पक्की मोटरेबल पुल बगाएपछि सोझो यातायात टुटेको उदयपुर र खोटाङ जोड्ने फोक्सिन्टारस्थित सुनकोशी नदीमा घिर्लिङ जडान गरिएको छ।
सदरमुकाम गाईघाटलाई खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारमा ११ वर्ष लगाएर बनेको पक्की पुल ०८१ असोज १२ गते रातिको भीषण बाढीले भत्काएको थियो।
बेलिब्रीज झिकेपछि गाईघाटबाट जाने सवारी साधन फोक्सिङ्टारदेखि १ किलोमिटर पर रसुवाघाटसम्म र दिक्तेलतर्फबाट आएका साधनहरू पारि नै रोकेर झोलुङ्गे पुल तरेर यात्रुहरूले गन्तव्य तय गर्ने गरेका छन्। दुवै तर्फको सडक चालु हालतमा रहे पनि पुल नहुँदा धेरै परिमाणको सामान तार्न समस्या हुने गरेको छ।
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले घिर्लिङ जडान कसले गरेको भन्ने कार्यालयलाई थाहा नभएको जनाएको छ। योजना प्रमुख (डिई) पशुपति ज्ञवालीले पुलको अभाव टार्न जडान गरिएको बेलिब्रीज वर्षायममा पानीको सतह बढ्दै गएपछि बगाउने खतराबाट बचाउन निकालेको बताए। तर, घिर्लिङ जडान गरेको बारे केही थाहा नभएको उनले बताए।
स्थानीयवासीले भने घिर्लिङ निर्माण व्यवसायीहरूले जडान गरेको बताएका छन्। खोटाङका विभिन्न ठाउँमा निर्माणाधीन योजनामा लाग्ने कच्चा पदार्थ सिमेन्ट, रडलगायत सामग्री ढुवानी गर्न भनेर उदयपुरका निर्माण व्यवसायीहरूले फोक्सिन्टारमा घिर्लिङ जडान गरेको भन्ने सुनेको रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईले बताए। उनका अनुसार खोटाङमा निर्माण सामग्रीका लागि आवश्यक कच्चा पदार्थ गाईघाटबाटै लानुपर्ने भएकाले ठेकेदारहरूले त्यहाँ घिर्लिङ जडान गरेका हुन्।
नदीमा पानीको बहाब बढ्दै गएपछि जेठमा बेलिब्रिज झिकेकाले दिक्तेल–गाईघाट सडकमा सोझो यातायात बन्द हुँदा खोटाङमा निर्माण भइरहेका योजनामा चाहिने कच्चा पदार्थ लान समस्या भएको छ। त्यही सामग्री ढुवानी गर्न नदी तार्न घिलिङजडान गरेको भन्ने जानकारी आएको वडाध्यक्ष राईले बताए।
खोटाङको रसुवा–पानधारे सडक स्तरोन्नतिसहितको कालोपत्रे काम भईरहेकाले त्यसकै लागि कच्चा पदार्थ ढुवानी गर्न फोक्सिन्टरमा घिर्लिङजडान गरिएको हो। रसुवा–पानधारे सडकअन्तर्गत रसुवा–सिमपानी खण्डको १५ किलोमिटर सडक गत वर्षदेखि स्तरोन्नतिसहित कालोपत्रेको काम जारी छ। त्यसमा लाग्ने कच्चा पदार्थ तार्न झोलुङ्गे पुलबाट मात्र सम्भव नभएकाले सानो खर्चमा घिर्लिङजडान गरेको बताइएको छ।
घिर्लिङको परीक्षण सञ्चालन शुक्रबार सफल भएको प्राविधिकले जनाएको बताइएको छ। घिर्लिङबाट खोटाङतर्फ कच्चा पदार्थ लान मात्र नभएर अन्य दैनिक उपभोग्य वस्तुहरू भित्र्याउन तथा जिल्लामा उत्पादित कृषिजन्य तथा फलफूलजन्य वस्तु बाहिर पठाउन पनि सहज हुने भएकाले फाइदै गर्ने स्थानीय बताउँछन्।
तीन दशकअघि निर्माण सुरु भएको १ सय ३ किलोमिटर लामो गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत खोटाङतर्फ खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चे र उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ आँपटारबीच फोक्सिन्टारमा १ सय २० मिटर लामो पक्की पुल सञ्चालनमा आए पनि ठेकेदारबाट सरकारलाई हस्तान्तरण हुन बाँकी हुँदै बाढीले बगाएको हो। पुल बगेपछि तत्काललाई काम चलाउ यातायात सुचारु गर्न गत पुस २७ गतेदेखि सञ्चालन गर्ने गरी अस्थायी बेलिब्रिज जडान गरिएको थियो। तर, वर्षा लागेसँगै जेठ ५ गते नै निकालिएको हो।
फोक्सिङटारको पक्की पुल भत्केपछि दिक्तेल–फोक्सिङटार–गाईघाट सोझो यातायात विच्छेद भएयता बेलिब्रीज पनि खोलेसँगै खोटाङबाट राजधानी काठमाडौं जाने गाडीहरू घुर्मी–कटारी हुँदै मदन भण्डारी लोकमार्ग पछ्याएर सिन्धुली खुर्कोट धुलीखेलको यात्रा तय गर्न बाध्य छन्।
गौरीपार्वती/वाइपी जेभीले बनाएको पुल हस्तान्तरण नगरी बाढीले बगाएपछि पुनः नयाँ पुल बनाउन संघीय सरकारले ३५ करोड बजेट सुनिश्चित गर्दै यातायातमन्त्रीले केही समयअघि शिल्यान्य ससमेत गुरेका थिए। तर, हालसम्म ठेक्का नलागेकाले पुल कहिले बन्ने या नबन्ने कुरा टुङ्गो लागिनसकेको खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)ले बताए।
प्रकाशित: १० श्रावण २०८२ ०८:३८ शनिबार





