२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा दुई पक्की पुल निर्माण

फाइल फोटो

धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा दुई पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। धनगढी–स्याउले सडक योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडक खण्डअन्तर्गत गोदावरी नगरपालिका–८ जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ स्थित सुकुटी खोलामा पक्की पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो।

ती दुई पक्की पुल निर्माणका लागि तीन करोड १५ लाखको लागतमा गत आर्थिक वर्षको पुसमा पृथ्वी र पशुपति जेभी निर्माण कम्पनीसँग असार मसान्तमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको इन्जिनियर रैखोलाले बताए। उनले निर्माण कम्पनीले कामलाई प्राथमिकतामा राखेर पुल निर्माणको काम गर्दै आएकाले समयावधि थपिएको बताए। 

जोनापुर खोलाको र सुकुटी खोलाको पुल निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको इन्जिनियर रैखोलाले जानकारी दिए। ‘पुल निर्माणको कार्य सम्पन्न भइसकेको छ, पुल आसपासको कालोपत्रे र खोला किनारतिर तटबन्धको काम मात्र बाँकी छ,’ रैखोलाले भने। 

धनगढी–स्याउले–हाट खोलीसम्म १३ किलोमिटर ४०० मिटर सडक कालोपत्रेको काम अघिल्लो आर्थिक वर्ष २०८०÷८१ असारमा सम्पन्न भइसकेको थियो। उक्त सडक खण्डअन्तर्गत स्याउले–हाट खोली सात किलोमिटर कालोपत्रेको काम सम्पन्न हुने क्रममा रहेको आयोजना कार्यालयले जनाएको छ।  

विसं २०६४ मा धनगढी–खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्र्याक’ खोल्ने काम गरिएको थियो। त्यस बेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गको स्याउले–धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटर कायम गरिएको थियो । 

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्ट ट्र्याक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण कार्य  सुस्त छ।

सो सडक धनगढी–खुटिया–डोटीको बिपीनगर–केआइसिंह गाउँपालिका हुँदै दिपायलसँग जोडिनेछ । सो सडक खण्डअन्तर्गत दिपायलसम्म ट्र्याक खोल्ने काम पूरा भएर स्तरोन्नति भइरहेको आयोजना कार्यालयका इन्जिनियर रैखोलाले जानकारी दिए।

प्रकाशित: १३ आश्विन २०८२ १७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App