इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर अन्तर्गत पुवाखोलामा नयाँ बेलिब्रिज जडान सम्पन्न भएको छ। पुल निर्माणसँगै आइतबार देखि उक्त खण्डमा यातायात सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
इलाम नगरपालिका-९ भाङटार र वडा नं-११ सोयाक जोड्ने यो पुलको सडक डिभिजन इलामकी लेखा अधिकृत अनिषा बोखीले आज उद्घाटन गरिन्। सङ्घीय सरकारको २ करोड २० लाख ३४ हजार रुपैयाँ लागतमा २३० फिट लम्बाइ र १४ फिट चौडाइको बेलिब्रिज निर्माण गरिएको हो।
सडक डिभिजन इलामका सूचना अधिकारी एवं इन्जिनियर अर्जुनकुमार घिमिरेका अनुसार, पुल निर्माणका अन्य संरचना आव २०८२/८३ मै तयार भइसके पनि भारतबाट अनुदानस्वरूप आउने पुलको सामग्री ढुवानीमा ढिलाइ भएकाले जडान केही ढिलो भएको हो। बेलिब्रिज जडान गर्न प्राविधिक टोली भारतबाटै आएको थियो।
यसअघि आव २०८१/८२ मा सङ्घीय सरकारकै १ करोड ४३ लाख ७६ हजार रुपैयाँ लागतमा जडान गरिएको बेलिब्रिजलाई गत असोज १८ गते आएको विनाशकारी बाढीले बगाएको थियो।
त्यसयता खोलामा अस्थायी डाइभर्सन बनाएर जोखिमपूर्ण रूपमा यातायात सञ्चालन हुँदै आएको थियो।
नयाँ बेलिब्रिज जडान भएसँगै मेची राजमार्गको भरपर्दो वैकल्पिक सडक खुलेको भन्दै स्थानीय बासिन्दा उत्साहित भएका छन्। इलाम नगरपालिका-११ का तिलक श्रेष्ठले पुल सञ्चालनमा आएसँगै यात्रा र ढुवानीमा सहजता आएको बताए।
यो मेची करिडोर हुँदै इलाम सदरमुकामदेखि झापाको बिर्तामोडसम्मको दुरी जम्मा ५० किलोमिटर छ। यसमध्ये इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने बाँकी १७ किलोमिटरमध्ये १४ किलोमिटर खण्डको ठेक्का लागेर निर्माण कार्य भइरहेको छ।
प्रकाशित: ४ आश्विन २०८३ २०:२६ आइतबार





