फूलहरूको पर्व तिहार नजिकिएसँगै नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने मूल नाराका साथ सुरु भएको बृहत् प्रदर्शनी मेला कात्तिक १ गतेसम्म चल्नेछ।
प्रदर्शनीमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीसहित सात सय भन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।
साथै मल खाद, अर्गानिक तथा रासायनिक विषादी, बीउ विजन, गमला, औजार, उपकरण तथा नवीनतम प्रविधि प्रदर्शनसहित ७० भन्दा बढी व्यावसायिक स्टलहरू राखिएका छन्।

आयोजकले यस प्रदर्शनीलाई ३५ हजारभन्दा बढीले अवलोकन गर्ने र ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा राखेको छ। प्रदर्शनीको मुख्य उद्देश्य फूल, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका उत्पादनलाई प्रवर्द्धन गर्दै देशको हरित अर्थतन्त्रको विकासमा सहयोग पु¥याउनु र व्यवसायलाई दीर्घकालीन रूपमा स्थायित्व दिनु रहेको संघले जनाएको छ। उत्कृष्ट व्यवसायीहरूलाई शिल्ड, नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने पनि जनाइएको छ।
व्यवसायीको गुनासो: लगानी बढ्यो, बिक्री मूल्य उस्तै
प्रदर्शनी सुरु भएसँगै नर्सरी व्यवसायीहरूले व्यवसायमा टिक्न गाह्रो भएको भन्दै सरकारसँग गुनासो गरेका छन्। विगत १५ वर्ष देखी नर्सरी व्यवसाय गर्दै आएका निमाकुमार लामाले नर्सरी व्यवसायको लयमा परिवर्तन हुन नसकेको बताए । नर्सरी व्यवसाय गर्नको लागी लगानीको प्रमुख समस्या रहेको बताउँदै उनले सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए।
‘विगत देखी नै फलफूल तथा बिरुवाको बिक्री मूल्य उस्तै छ। तर हामीले गर्ने लगानी भने दैनिक बढ्दो छ,’ उनले भने, ‘मल खादका सामानसहित बीउ विजनका मूल्य र व्यवसाय गर्ने स्थानहरूको भाडा दर पनि बढ्दो छ।’ महिनामा एक आना जग्गामा २५ हजार भाडा दर तिर्नुपर्ने स्थिति हुँदा व्यवसायमा टिक्न निकै गाह्रो रहेको उनले बताए।
सरकारले कम मूल्यमा जग्गा र मल खादको व्यवस्था गरिदिनुपर्ने उनको अपेक्षा छ। राज्यले लगानीको वातावरणलाई सुनिश्चित गर्दै नेपालीहरूलाई नेपाल बस्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए।

अर्का नर्सरी व्यवसायी डिल्ली विष्टले पछिल्लो समय नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू बढ्न थालेको र सहरमा घर सजाउने प्रचलनले नर्सरीको महत्त्व बढे पनि सरकारले व्यवसायलाई फस्टाउन सहयोग नगरेको गुनासो गरे। उनले जनताका समस्यामा सरकारलाई चासो नभएको र लगानीको वातावरण सिर्जना गर्न राज्य कमजोर भएको बताए। ‘सरकारलाई जनताका समस्यामा कुनै चासो छैन, सरकार फेरिए पनि उनीहरूका योजना र कार्यान्वयनको प्रणाली उस्तै हो र किसानमा समस्या सधैँ उस्तै हुन्,’ उनले भने, ‘जनताको अभिभावक भएपछि जनताको सामु पुगेर सम्बोधन गर्न सक्नुपर्ने हो तर सरकारले जनताका समस्यालाई प्राथमिकतामा राख्न सकेको छैन।’ नर्सरीको महत्त्व बढ्दै गए पनि सरकार र सम्बन्धित निकायले व्यवसायलाई फस्टाउन सहयोग नगर्दा नेपालमा नै गरिखाने वातावरण सिर्जना हुन नसकेको उनले बताए।

नर्सरी व्यवसायी संघ नेपालकी उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले देशमा नर्सरी र सो सँग सम्बन्धित वस्तुहरूको आयातमा रहेको अत्यधिक पर निर्भरतालाई कम गरी स्वदेशी उत्पादन बढाउन एक्स्पो आयोजना गरिएको बताइन्। उनले नर्सरी व्यवसायको विकासले स्वच्छ वातावरण, रोजगारी सिर्जना र आय स्रोत वृद्धि गर्ने उद्देश्य रहेको उल्लेख गरिन्।
यद्यपि, देशमा बढ्दो राजनीतिक अस्थिरताका कारण उद्यमी, व्यवसायीहरूको मनोबल कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै महर्जनले लगानीमैत्री वातावरण सुदृढ गर्न नेपाल सरकार र सबै राजनीतिक दलहरूलाई गम्भीर भएर लाग्न आग्रह गरिन्।
प्रकाशित: २८ आश्विन २०८२ १७:५० मंगलबार





