२८ असार २०८३ आइतबार
image/svg+xml
अर्थ

इप्पानमा नेतृत्वलाई प्रतिस्पर्धा, उपमहासचिवसहित ६ जना निर्विरोध

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि शुक्रबार साधारण सभा तथा अभिवेशन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ।

इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले आगामी नेतृत्वको आधार तय गर्ने पदका रूपमा वरिष्ठ उपाध्यक्ष पदलाई विशेष महत्त्वका साथ हेरिएको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बन्ने निश्चित भइसकेको छ भने आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन लामा र बलराम खतिवडा आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

निर्वाचनको अघिल्लो दिन केही पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिले बिहीबार साँझ सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपमहासचिवमा कविता पोख्रेल निर्विरोध निर्वाचित भएकी छन्। त्यसैगरी सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजय मोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।

उपाध्यक्ष पदका लागि भने कडा प्रतिस्पर्धा हुने देखिएको छ। उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम बिष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चुनावी प्रतिस्पर्धामा छन्। सात उम्मेदवारमध्ये पाँच जना उपाध्यक्षमा निर्वाचित हुनेछन्।

महासचिव पदमा टेकनाथ (टी.एन.) आचार्य र प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुँदैछ। दुवै उम्मेदवारले ऊर्जा क्षेत्रको विकास, निजी क्षेत्रको लगानी प्रवद्र्धन तथा संस्थागत सुदृढीकरणलाई आफ्नो प्राथमिकता बनाएका छन्।

त्यसैगरी कोषाध्यक्ष पदका लागि मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्याल आमनेसामने छन्। निर्वाचन परिणामले आगामी कार्यकालमा संस्थाको आर्थिक व्यवस्थापन र नीति कार्यान्वयनको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

सदस्य पदमा पनि उल्लेख्य प्रतिस्पर्धा देखिएको छ। खुलातर्फ सात सदस्य निर्वाचित हुने व्यवस्था भए पनि १४ जनाले उम्मेदवारी दिएका छन्। खुला सदस्य पदका लागि अनुप आचार्य, इन्दिरा पन्त, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, प्रदीप ओली, डा. भुषण गुरागाईं, मिलन खड्का, वर्णन लामिछाने, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कँडेल प्रतिस्पर्धामा छन्।

महिला सदस्यतर्फ तीन पदका लागि चार जनाको उम्मेदवारी परेको छ। ज्योति गैरे, प्रतिमा ज्ञवाली, सङ्गीता धमला र सिर्जना खड्का निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। चार उम्मेदवारमध्ये तीन जना निर्वाचित हुनेछन्।

इप्पान नेपालको निजी ऊर्जा क्षेत्रको प्रतिनिधिमूलक संस्था हो। जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्ने निजी क्षेत्रका उत्पादकहरूको साझा संगठनका रूपमा रहेको इप्पानले ऊर्जा नीति निर्माण, लगानी प्रवद्र्धन तथा सरोकारवालाबीच समन्वयमा भूमिका खेल्दै आएको छ।

संस्थाको विधानअनुसार कार्यसमितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिव, एक कोषाध्यक्ष, सात खुला सदस्य तथा तीन महिला सदस्य रहने व्यवस्था छ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण यस पदको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।

मतदानबाट इप्पानको आगामी नेतृत्व चयन हुने भएकाले निजी ऊर्जा क्षेत्रका व्यवसायी तथा लगानीकर्ताहरूको ध्यान निर्वाचनतर्फ केन्द्रित भएको छ। निर्वाचन परिणामले आगामी कार्यकालमा संस्थाको नेतृत्व, नीति तथा ऊर्जा क्षेत्रको निजी लगानी प्रवद्र्धनको दिशामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २८ जेष्ठ २०८३ २०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App