एक महिनादेखि लागेको फर्निचर मेलामा आएका व्यवसायीहरु निराश देखिएका छन् । अपेक्षित व्यापार नभएपछि फर्निचर बेच्न आएकाहरु निराश देखिएका हुन् ।
विगतका वर्षहरुभन्दा यस वर्ष निकै कम व्यापार भएको छ । एक महिनामा खासै व्यापार नभएको मेलामा देखिएको फर्निचरले पनि पुष्टि गर्ने व्यवसायीहरुको भनाइ छ ।
मेलामा करिब चालिस लाख मूल्य बराबरको काठको फर्निचर लिएर आएका गढीमाई नगरपालिकाको वीरनगरा गाउँका रामवृक्ष ठाकुर भन्छन्, अहिलेसम्म मुस्किलले चार लाख रुपैयाँको व्यापार भएको छ । यसवर्ष ग्राहकहरुको खासै रुचि देखिएको छैन ।
सामान्यतया वसन्तपञ्चमीको अघिल्लो दिनदेखि गरुडा नगरपालिका १ जयनगरमा फर्निचर मेला सुरु हुने गरेको छ । वसन्त पञ्चमीदेखि महाशिवरात्रीको एक हप्ता पछिसम्म चल्ने एक महिने फर्निचर मेलामा मुख्य गरी काठको फर्निचर बिक्री हुने गर्दछ । गाउँका फर्निचर व्यवसायीको देशमै ठुलो काठे फर्निचर मेला मानिएको छ ।
मेलामा काठका घरायसी प्रयोजनका फर्निचरहरु भारी परिमाणमा बिक्री तथा प्रदर्शनका लागि ल्याइएको छ । मुख्य गरी पलङ, कुर्सी, टेबल, खाट, झ्याल, ढोका तथा विभिन्न डिजाइनका दराजहरु यहाँको आकर्षण हुने गरेको छ ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कल्वारले जयनगर फर्निचर मेला जिल्लाकै एउटा पहिचान भएको बताउँदै मेलाको लागि आवश्यक भौतिक पूर्वाधार तथा सुरक्षा र व्यवस्थापनको क्षेत्रमा नगरपालिकाले आवश्यकतानुसारको सबै सहयोग गरेको बताएका छन् । मेलाको व्यवस्थापनको लागि रहेको समितिसँग समन्वय गरेर नगरपालिकाले सहयोग गरिरहेको नगर प्रमुख कल्वारको दाबी छ । मेलामा करिब पाँच करोडको बिक्री भएको दाबी उनले गरे ।
जयनगर फर्निचर मेला व्यवस्थापन समितिका अध्यक्ष अरुण राय यादवले काठको फर्निचरसँगै फलामको घरायसी प्रयोजनका सामग्रीहरु खुर्पी, हँसिया, कोदालो, हथौडा, चुलेसी, खुकुरीलगायतको पनि ठुलो बेपार भइरहेको बताएका छन् । अध्यक्ष यादवले अहिलेसम्मको व्यापारलाई सन्तोषजनक मान्दै महाशिवरात्री मेलासँगै अझ गति लिने बताए ।
विगतको तुलनामा वैवाहिक लगन कम भएको तथा निरन्तरको शीतलहरीले व्यापारमा केही सुस्तता आएको फर्निचर व्यावसायीहरुको भनाइ छ । अब हरेक दिन घाम लागिरहेकाले व्यापारमा वृद्धि हुने आशा भने फर्निचर व्यवसायीको रहेको छ ।
जयनगर फर्निचर मेला सस्तोको लागि प्रसिद्ध छ । एकै ठाउँमा थोक बिक्री हुने भएकाले सर्लाही तथा बारादेखिका व्यवसायी जयनगर फर्निचर मेलामा सामान लिएर पुग्ने गर्दछन् । यसै गरी सस्तोमा फर्निचर पाइने भएकाले विभिन्न जिल्लाका उपभोक्ता काठको फर्निचर किन्नका लागि एक महिने जयनगर मेलामा पुग्ने गर्दछन् ।
फर्निचर मेलामा उत्साहजनक बिक्री नभएपछि निराश देखिएका व्यवसायीलाई फागुबैरिया मेलाको आश रहेको छ । जयनगरमा बिक्री नभएको फर्निचर गढीमाई नगरपालिकाको समनपुरमा होलीको अवसरमा लाग्ने ऐतिहासिक मेलामा पुग्ने गरेको छ । गत वर्ष समनपुर मेलामा लगिएका सबै फर्निचर बिक्री भएका थिए ।
प्रकाशित: ३ फाल्गुन २०८२ १८:०६ आइतबार





