जुम्लामा यसवर्षको दसैंमा १० करोडभन्दा बढीको खसी, राँगा र भेडा खरिदबिक्री भएको छ। स्थानीय तथा बाहिरी जिल्लाबाट ल्याइएका १० करोड पाँच हजार मूल्य बराबरका खसी, भेडा, राँगो तथा भैँसी खरिद बिक्री भएको चन्दननाथ नगरपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ।
शाखाका अनुसार तीमध्ये भेडा ९ करोड ३४ लाख ८८ हजार, खसी ३७ लाख ४० हजार र रागोँ/भैँसी २६ लाख ७७ हजार ५ सयको खरिदबिक्री कारोबार भएको हो। शाखा प्रमुख वीरबहादुर रावलले यसपटकको दसैंका लागि ५ हजार ८ सय ४३ भेडा बिक्री भएको बताए। उनले २ सय ५६ खसी, राँगो र ६३ भैँसी पनि खरिद बिक्री भएको बताए। उनले दसैंमा स्थानीय भेडाको अधिकतम मूल्य २३ हजार, न्यूनतम मूल्य ९ हजार र औषत मूल्य १६ हजार तोकिएको बताए।
यस्तै खसीको अधिकतम मूल्य २२ हजार, न्यूनतम मूल्य ८ हजार औषत मूल्य १५ हजार रहेको बताए। यस्तै राँगो/भैँसीको अधिकतम मूल्य ६१ हजार, न्यूनतम मूल्य २४ हजार र औषत मूल्य ४२ हजार ५ सय रहेको थियो ।
जुम्लामा कालीकोबाट खसी, भेडा र राँगो/भैँसी ल्याइएको थियो। गतवर्षको दसैंमा १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका खसी, भेडा, राँगो तथा भैँसी खरिद बिक्री भएको थियोे। गतवर्ष भन्दा यो वर्ष सस्तोमा खरिदबिक्री भएको हो।
प्रकाशित: १३ आश्विन २०८२ २०:४९ सोमबार





