मुलुककै सर्वाधिक सफल एयरलाइन्सको दाबी गर्ने बुद्ध एयरलाई आफ्नो जहाजबाट तेल चुहिरहेको जानकारी समेत यात्रुले दिनु पर्ने अवस्था आएको छ । प्राविधिकहरुको पूर्ण परीक्षणपछि उड्ने तयारीमा रहेको जहाजबाट एयर फ्युल चुहिएको समेत यात्रुले देखेर जानकारी गराएपछि ठुलो दुर्घटनाको सम्भावनाबाट जोगिएको छ ।
बाराको सिमराबाट काठमाडौंका लागि उडान भर्न लागेको 9N-AIT जहाजको देब्रेतिरको पंखा छेउबाट एयर फ्युल चुहिएको थियो । यात्रुलाई जहाजमा राखेर उड्नै लागेको अवस्थामा तेल चुहिएको पाइएपछि उडान नै रद्द भएको छ । जहाजभित्र भएका यात्रुलाई उतारिएको र जहाज चढ्ने तरखरमा रहेकाहरुलाई फर्काइएको छ । उनीहरू सबैलाई अर्को जहाजमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको छ ।

सिमरा विमानस्थलमै पार्किङ गरेर अहिले जहाजमा देखिएको समस्याबारे अध्ययन सुरु भएको छ । जहाजबाट ठूलोमात्रामा तेल चुहिँदा समेत पत्तो नपाएपछि मेन्टिनेन्समा बुद्ध एयरको चरम लापरवाही प्रष्ट देखिएको छ । जहाजबाट काठमाडौं आउन लागेका यात्रुले भने त्रासका बीच ठूलो दुर्घटनाबाट बचेको बताएका छन् ।
प्रकाशित: ८ फाल्गुन २०८२ १४:२६ शुक्रबार





