२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

बर्डफ्लुले ध्वस्त व्यवसाय: कुखुरा फर्महरू पूर्ण क्षमतामा फर्कन कम्तीमा आठ महिना लाग्ने

देशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) र एच–९ इन्फ्लुएन्जा संक्रमणका कारण पोल्ट्री क्षेत्रमा तत्कालको क्षतिमात्र नभई उत्पादन चक्र नै अवरुद्ध भएको छ। व्यवसायीहरूका अनुसार संक्रमणका कारण प्रभावित फार्महरू कम्तीमा पाँचदेखि आठ महिनासम्म पूर्ण क्षमतामा सञ्चालनमा फर्कन नसक्ने अवस्था बनेको छ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार बर्डफ्लुबाट करिब दुई अर्ब रुपैयाँ र एच–९ इन्फ्लुएन्जाबाट थप करिब दुई अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। उनका अनुसार कुखुरा नष्ट हुनु मात्रै समस्या नभई उत्पादन रोकिनु, खोर खाली राख्नुपर्ने, बैंकको ब्याज तिर्नुपर्ने र बजार आपूर्तिमा कमी आउनुले किसानमाथि थप आर्थिक भार परेको छ।

बर्डफ्लु संक्रमण मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा पुष्टि भएको थियो। पशु सेवा विभागका अनुसार अधिकांश क्षेत्रमा संक्रमण नियन्त्रणको चरणमा पुगे पनि जैविक सुरक्षाको मापदण्ड पूरा नगरी प्रभावित फार्ममा पुनः कुखुरा पाल्न नपाइने भएकाले उत्पादन चक्र प्रभावित बनेको हो।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार उत्पादन एकपटक घटेपछि पुरानै अवस्थामा फर्किन कम्तीमा ६ देखि ८ महिना लाग्न सक्छ। उनले उत्पादनमा आएको गिरावटका कारण बजारमा अण्डा र मासुको आपूर्तिसमेत प्रभावित भएको बताए।

यता, पशु सेवा विभागले भने बर्डफ्लुबाट भएको प्रत्यक्ष क्षति करिब ८० करोड रुपैयाँ रहेको जनाएको छ। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गरिएकामा हालसम्म करिब ५० करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ। अप्रत्यक्ष आर्थिक क्षतिको भने आधिकारिक मूल्यांकन गरिएको छैन।

विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा पाँच लाख ६९ हजारभन्दा बढी कुखुरा तथा अन्य पन्छी, करिब नौ लाख ८९ हजार अण्डा र एक लाख ९५ हजार किलोग्राम दाना नष्ट गरिएको छ। प्रभावित क्षेत्रमा निसंक्रमण, जैविक सुरक्षा कडाइ तथा प्रयोगशाला निगरानीलाई निरन्तरता दिइएको विभागले जनाएको छ।

व्यवसायीहरूले बर्डफ्लु तथा एच–९ नियन्त्रणका लागि प्रभावकारी खोपको उपलब्धता, जैविक सुरक्षा व्यवस्थाको कडाइ तथा किसानलाई आवश्यक सहयोगको दायरा विस्तार गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित: ६ श्रावण २०८३ १७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App