२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

विराटनगरका उद्योगी भन्छन् : ‘बजेट समग्रमा राम्रो भए पनि महानगरलाई उपेक्षा’

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट समग्र रुपमा राम्रो रहेको विराटनगरका उद्योगी व्यवसायीहरूले प्रतिक्रिया दिएका छन् ।  शुक्रबार अर्थमन्त्री डा स्वर्णीम वाग्लले प्रस्तुत गरेको बजेटले उद्योगी व्यवसायीहरूले धेरै वर्ष देखि राख्दै आएको माग समेटेको उनिहरूको प्रतिक्रिया छ ।  

नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरेले सरकारले ल्याएको बजेट समग्रमा राम्रो भएको बताए । उनले प्राविधिक क्षेत्र, भौतिक पूर्वाधार, उर्जा र कृषिको विकासलाई प्राथमिकतामा राखेको बताए । उद्योगहरूले आयात गर्ने कच्चा पदार्थमा कर छुटको व्यवस्था राम्रो रहेको बजेट कार्यान्वयन भए समग्र अर्थतन्त्रमा सकारात्कम प्रभाव पार्ने स्पष्ट पारे ।

उनले भने ‘समग्रमा बजेट राम्रो छ तर, कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ ।’ नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले उद्योगीहरूले धेरै वर्ष देखि राख्दै आएका कर सम्बन्धी मागहरू पुरा भएको बताए । सरकारले करका विषयमा बजेटबाट सम्बोधन गरेपनि बजेटको पूर्ण पाठ पछि मात्रै के–के विषय सम्बोधन गर्‍यो भन्ने स्पष्ट पारे ।  

सरकारले ल्याएको बजेट स्वागतयोग्य रहेको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए । उनले कच्चा पदार्थमा छुटलगायतको विषयले उद्योगी व्यवसायीलाई उत्साहित बनाएको धारणा राखे ।

मोरङ उद्योग व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनिल साहले सरकारले प्रस्तुत गरेको बजेट समग्रमा राम्रो भए पनि विराटनगरलाई उपेक्षा गरेको गुनासो गरे । उनले बजेटमा आयकरको सीमा बढाइनु, कच्चा पदार्थका कर छुट, धेरै वटा बस्तुमा अन्त:शुल्क हटाइनुलगायतका विषण राम्रो भए पनि  विराटनगरका उद्योगी व्यवासायीले उठाउँदै आएका धेरै विषयहरूलाई नसमेटेको बताए ।  

बरिष्ठ उद्योगी महेश जाजुले बजेट समग्रमा राम्रो भए पनि बजेटमा उल्लेख गरिएका विषयहरू के–के हुन् भन्ने अध्ययन गर्न बाँकी रहेको बताए । ‘अन्तशुल्क छुट दिने भनिए पनि नेपालमा आयात नहुने, उत्पादन नहुने  निश्किृय खालका बस्तुहरूमा मात्रै अन्तशुल्क हटाइएको हो की भन्ने आशंका छ ।’ 

विराटनगरका उद्योगीहरूले समग्रमा सरकारले ल्याएको बजेटलाई स्वागत गरे पनि विराटनगरले धेरै वर्ष देखि राख्दै आएको मागहरूलाई वेवास्था गरेको गुनासो गरेका छन् । विशेष गरी विशेष आर्थिक क्षेत्र,औद्योगिक प्रदर्शनी केन्द्रलगायतका विषयलाई बजेट सम्बोधन नगरेको उद्योगी व्यवसायीको गुनासो छ ।

प्रकाशित: १५ जेष्ठ २०८३ २०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App