विराटनगरका उद्योगीहरूले औद्योगिक पूर्वाधार निर्माणमा सरकारले हेलचेक्र्याइँ गरेको गुनासो गरेका छन्। विराटनगरमा बुधबार आयोजित अन्तरक्रियामा उद्योगीहरूले उद्योग एकातिर सरकारको लगानी अर्कोतिर भएको गुनासो गरेका छन्।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रका उद्योगीहरूलाई पूर्वाधार विकासमा अत्यधिक लागत लाग्ने गरेको बताए। उनले उद्योग स्थापना गर्न लाग्ने लगानी जग्गा लगायतका पूर्वाधारमै खर्च गर्नु परिरहेको गुनासो गरेका हुन्। विराटनगर आसपासका क्षेत्रमा लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको माग गर्दै आएको भए पनि सरकारले चासो नदेखाएको उनले बताए। राठीले विराटनगर आसपासमा औद्योगिक क्षेत्रको स्थापनाका लागि सरकारले चासो नदिएकोप्रति चिन्ता व्यक्त गरे। स्पष्ट नीतिगत ढाँचा, सहुलियत र पूर्वाधारसहितको औद्योगिक क्षेत्र स्थापना भएमा मात्र लगानीकर्तालाई आकर्षित गर्न सकिने उनको भनाइ छ।
मोरङका उद्योगी व्यवसायीहरूले सुनसरीको अमरडुवा स्थित साल्ट ट्रेडिङको जग्गामा औद्योगिक क्षेत्र स्थापनाको माग गर्दै आएको वर्षौं बिते पनि अझैसम्म सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन। उद्योगहरू सुनसरी–मोरङ करिडोरमा रहेको तर, सरकारले विगतमा राजविराजमा औद्योगिक क्षेत्र स्थापना गरेको मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले बताए। विगतमा मात्रै होइन अहिले पनि सरकारले उल्टो काम गरिरहेको उनको गुनासो छ। सरकारले झापामा औद्योगिक पार्क स्थापना गरे पनि त्यहाँ उद्योगहरू जाने अवस्था नरहेको उनको भनाइ छ।
साहले भने, ‘झापामा बनेको औद्योगिक पार्क पनि राजविराजको जस्तै नहोला भन्न सकिँदैन।’ उनले उद्योगहरू एकातर्फ, सरकारको लगानी अर्कोतर्फ हुँदा समस्या भएको स्पष्ट पारे। सरकारले राजविराज र झापामा औद्योगिक क्षेत्र स्थापना गर्ने तर, उद्योगचाहिँ सुनसरी–मोरङमा हुने गरेकाले सरकारको लगानी सदुपयोग नभइरहेको साहले बताए। उनले विराटनगर आसपासको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न माग समेत गरे।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले राजविराजमा साना तथा मझौला उद्योगलाई लक्षित गरी औद्योगिक पूर्वाधार विकास भइसकेको र ४० वर्षको लिजमा उद्योगलाई प्लट प्रदान गरिने जानकारी गराए। उनले उक्त औद्योगिक क्षेत्रमा पानी, बिजुली र सुरक्षाको आवश्यक व्यवस्था गरिएको पनि दाबी गरे। उनले उद्योग स्थापना गर्न इच्छुक उद्योगीहरूले साउन २१ गतेसम्म प्रस्ताव दिन सक्ने र आवश्यक परेमा सम्पत्ति स्वामित्व हस्तान्तरण गरी बिक्री समेत गर्न सकिने व्यवस्था रहेको बताए।
राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न मोरङका उद्योगीलाई पन्तले आग्रह समेत गरे। पन्तले औद्योगिक क्षेत्रभित्र मझौला तथा साना उद्योगका लागि ८९.९१ रोपनी क्षेत्रफलमा पूर्वाधार विकास गरिएको जानकारी गराए। यस क्षेत्रमा न्यूनतम ५ देखि अधिकतम ८ रोपनीसम्मका प्लट उपलब्ध रहेको र कालोपत्रे सडक, २४ सै घण्टा विद्युत आपूर्ति, छुट्टै सब–स्टेसन जस्ता सुविधासहित ४० वर्षका लागि लिजमा उद्योग स्थापना गर्न सकिने व्यवस्था रहेको बताए।
औद्योगिक क्षेत्रमा हालसम्म १२ वटा उद्योग सञ्चालनमा रहेको यस क्षेत्रभित्र उद्योग स्थापना गर्दा मिलमेसिनरी वा स्थिर सम्पत्ति बैंक तथा वित्तीय संस्थामा धितो राखी कार्यालयको सिफारिसमा कर्जा समेत लिन सकिने सुविधा रहेको जानकारी दिँदै उनले प्रति रोपनी वार्षिक करिब १४ हजार रुपैयाँ भाडादर निर्धारण गरिएको जानकारी गराए। साना तथा मझौला उद्योगका लागि यो क्षेत्र सम्भावनायुक्त रहेको भन्दै उनले उद्योगी व्यवसायीलाई यहाँ लगानी गर्न आग्रह गरे।
राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न इच्छुक उद्योगीहरूलाई लक्षित गर्दै उद्योग संगठन मोरङ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको संयुक्त आयोजनामा विराटनगरमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा मोरङ उद्योग व्यापार संघ, सुन्दरहरैचा उद्योग संघ, झुम्का उद्योग वाणिज्य संघ, नेपाली युवा उद्यमी मञ्च विराटनगर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो।
प्रकाशित: १४ श्रावण २०८२ २०:२४ बुधबार





