५ आश्विन २०८३ सोमबार
image/svg+xml
अर्थ

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको क्षति भएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रूत प्रतिक्रिया टोली (क्युआरटी)ले आज पर्यटनमन्त्री खडग राज पौडेललाई बुझाएको प्रतिवेदनमा उक्त क्षति भएको जनाइएको हो ।

प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ ।

क्युआरटीका संयोजक धमलाका अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढी होटल क्षेत्रमा रु १९ अर्ब ५६ करोड चार लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानीमा रु १४ अर्ब ६० करोड २४ लाख ६४ हजार र पर्यटक व्यवस्थापनमा रु १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० बराबरको क्षति भएको अनुमान छ ।

त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधार, सवारीसाधन, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबार, आन्तरिक पर्यटन राजस्व, र्‍याफ्टिङ तथा क्याम्पिङ साइट, ट्रेकिङ ट्रेललगायत क्षेत्रमा क्षति पुगेको क्युआरटीका संयोजक धमलाले जानकारी दिए । उनका अनुसार बाढी तथा पहिरोमा एक हजार ११७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित भएका छन् ।

हालसम्म ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन् । हालसम्म ६०६ विदेशी र १८८ जना नेपालीसहित ७९४ जना सम्पर्कविहीन रहेका संयोजक धमलाले जानकारी दिए ।  घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश-मानसरोवर टुर अपरेटरहरूसँग समन्वय गरी खोज तथा उद्धार कार्य सुरु गरिएको उनको भनाइ छ ।

प्रतिवेदनमा विपद्पछिको पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नगरी भविष्यमा देखिन सक्ने जलवायुजन्य जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षित तथा दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोर्डका कार्यकारी सदस्य धमलाले बाढीपहिरोबाट पर्यटन व्यवसाय, होटल तथा पदमार्गमा ठूलो क्षति पुगेको बताए । उनले बाढीप्रभावित व्यवसायीका लागि तत्काल राहत, कर छुट तथा सहुलियतपूर्ण पुनरुत्थान प्याकेज आवश्यक रहेको बताए ।

संयोजक धमलाले वैकल्पिक पदमार्ग तथा यातायात पहुँच शीघ्र सञ्चालनमा ल्याउनाका साथै अन्तरराष्ट्रिय पर्यटन बजारमा नेपाल सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए । छलफलका क्रममा भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान तथा पुनःस्थापनाका लागि आवश्यक कार्ययोजना अघि बढाउने विषयमा छलफल भएको थियो ।

सो क्रममा मन्त्री पौडेलले आगामी दिनमा हुनसक्ने विपद्का समयमा प्रभावकारी समन्वय, शीघ्र प्रतिकार्य तथा पर्यटन क्षेत्रको पुनरुत्थान प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुनरुत्थानको योजना मस्यौदा तयार गर्ने थप जिम्मेवारी सम्बन्धित समितिलाई दिएका छन्। उनले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको शीघ्र उद्धार तथा क्षतिग्रस्त पर्यटन पूर्वाधारको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राखेको बताए । 

मन्त्री पौडेलले नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रसँगको सहकार्यमा तयार हुने संयुक्त कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी पर्यटकीय यामअघि प्रमुख गन्तव्यमा सुरक्षा, सञ्चार तथा यातायात पहुँच पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रारम्भिक प्रतिवेदनले पर्यटन क्षेत्रमा प्रमाणमा आधारित तथा एकीकृत सूचना प्रवाह, जलवायु-अनुकूल पर्यटन पूर्वाधार, पूर्वसूचना प्रणाली, पर्यटक प्रहरीको विस्तार तथा पर्यटन बिमा प्रणालीको संस्थागत विकास गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

पर्यटन बोर्डले सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा निजी क्षेत्रसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै पर्यटक सुरक्षा, विश्वसनीय सूचना प्रवाह र पर्यटन क्षेत्रको दिगो पुनरुत्थानलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव तथा शाखा प्रमुखहरू, नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक हिक्मतसिंह ऐर, प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित: ५ आश्विन २०८३ २१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App