२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ। भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन्।

स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु ५२ हजारसम्म पर्छ। भोजपुरे खुकुरी नेपालका विभिन्न ठाउँसँगै विदेशबाट पनि माग हुने गरेको छ।

‘यहाँका खुकुरीहरू देशभित्र मात्र होइन, विदेशसम्म निर्यात हुन्छन्’, उनले भने, ‘मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी बनाइन्छ ।’ उच्च मूल्यका खुकुरी विशेष मागका आधारमा बन्ने गरेको छ । त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिने उनले बताए।  भोजपुरे खुकुरीले बजारका दैनिक सामान्य माग धान्ने गरे पनि कहिलेकाहीँ ठूलो परिमाणमा माग आउँदा बजारको माग पूरा गर्न कठिन हुने पनि उनको भनाइ छ।

परम्परागत सीप र नयाँ प्रविधिको मिश्रणसहित तयार हुने भोजपुरे खुकुरी अहिले पनि नेपाली साहस, गौरव र पहिचानको प्रतीकका रूपमा परिचित छ। भोजपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटक भोजपुरे खुकुरीलाई ‘स्मृति उपहार’का रूपमा लिएर जाने गरेका छन् । यसले यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याएको स्थानीय बताउँछन् ।

पहिले हातको सहायताले मात्र बनाइने खुकुरी अहिले आधुनिक उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ। फलाम तताउने, छेउ धारिलो पार्ने, फलाम पिट्ने, बिँड लगाउने, दाप बनाउने काम अहिले पनि स्थानीय कालीगढहरूले आफ्नै सीपले गर्दै आएका छन्। भोजपुरे खुकुरी देशका विभिन्न ठाउँसँगै अमेरिका, बेलायतलगायत देशबाट पनि माग हुने गरेको व्यवसायीहरूको भनाइ छ। रासस

प्रकाशित: २१ कार्तिक २०८२ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App