१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

भक्तपुरका किसानलाई धान भित्राउनमा चटारो

भक्तपुरका किसानलाई हिजोआज धान भित्याउने चटारो परेको छ । वर्षा रोकिएसँगै किसानहरू आफ्नो खेतमा पुगेर पाकेका धान काट्न र भित्र्याउन व्यस्त बनेका छन् । खेतबारीमा महिलादेखि वृद्धसम्म सबैको व्यस्तता यतिखेर भक्तपुरका भित्री सहरबाहेक सवैतिर देखिन्छ ।  

विशेष गरेर भक्तपुरका चाँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रका जहाँतही यो दृश्य सजिलै देख्न सकिन्छ । जिल्लाका अरु दुई भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका क्षेत्रमा बढिसकेकाले त्यहाँ फाटफुट ठाउँहरुमा पनि धान काट्दै गरेको दृश्य यतिखेर देख्न सकिन्छ ।

जिल्लाका लिवाली, कमलविनायक, व्यासी, सल्लाघारी, सिपाडोल, कटुञ्जे, बालकोट, चितपोल, सुडाल, बागीश्वरी, नंखेल, जोरपाटी, झौखेल, दुवाकोट, दधिकोट, बागीश्वरी, सिरुटारलगायतका खेत बस्तीहरुमा धान काट्ने काम तीव्र गतिमा भइरहेको छ । कतिपय ठाउँमा पहिले काटिएका धान सुकाउने र झार्ने काम भइरहेको छ भने कतिपयले नयाँ काट्न जुटेका देखिएका छन् । किसानहरू भन्छन्, ‘यस वर्षको वर्षा केही ढिलो रोकिएकाले धान पाक्न र भित्र्याउन समय मिलाउन कठिनाइ भएको छ ।’

स्थानीय किसान रामकृष्ण कोजूका अनुसार धान काट्ने बेला पानी परेपछि ६ महिनाको मिहेनत खेरा जाला भनेर किसानहरु हुतिएर धान काट्नमा व्यस्त देखिएका हुन् । उनले भने, ‘अहिले मौसम सफा भएकाले सबैजना काममा छन् । पानीसँगै हुरी आए पहेँलै भई लहलहाउँदो धान झरेर ६ महिनाको मिहेनत खेर जानसक्ने चिन्ता हामीलाई छ । एकदिन ढिलो भयो भने पानी परेर फेरि बिग्रिने डर छ ।’

धान भित्र्याउनेसँगै अब फसल सुकाउने, झार्ने र भण्डारणको चटारो पनि सुरु भएको छ । कृषि प्राविधिकको भनाइ अनुसार यस वर्ष भक्तपुरमा धान उत्पादन औसत अवस्थामा रहेको छ । केही ठाउँमा रोग र कीराको असर देखिए पनि समग्रमा उत्पादन राम्रो हुने अनुमान छ ।

विद्यार्थीले भित्राए धान

बुधबार भक्तपुरमा अलि फरक दृश्य देखियो, विद्यार्थीले धान भित्राएको । सबैतिर किसानहरु धान भित्राउन व्यस्त देखिरहेको बेला भक्तपुरका विद्यार्थीको एउटा समूह पनि यस्तै व्यस्ततामा देखियो ।

एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरका कक्षा ४ का ससाना नानीबाबुहरु स्कुल नजिकैको खेतमा धान भित्राउन व्यस्त देखिएका थिए । उनीहरु धान काट्न, चुटन अनि अनि भित्राउन व्यस्त देखिए । साथसाथै उनीहरु कृषि कर्मबारे पनि सिक्दै गरेको देखियो । उनीहरु आफूहरुसँग खेत आएका शिक्षकशिक्षिकाहरु अनि धान भित्राउन सहयोगीका रुपमा खेतमा रहेको खेताहासँग आफूहरुले नजानेका विषयहरुबारे सोध्न व्यस्त देखिए ।

स्कुलकी शिक्षिका एवं कार्यक्रमका संयोजक कल्पना खनालले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउन खेतमा ल्याएको सुनाइन् । प्रत्येक वर्ष कक्षा ४ का विद्यार्थीहरुलाई धानको विउ राख्ने, रोप्ने, काट्नेदेखि लिएर सम्पूर्ण प्रक्रियाबारे जानकारी दिन खेतमा ल्याउने गरेको स्मरण उनले गरिन् । त्यही अनुसार कक्षा ४ का एक सय ४ जना विद्यार्थी धान भित्र्याउन खेतमा पुगेका थिए ।

 

प्रकाशित: १२ कार्तिक २०८२ १८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App