वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेको भागवती स्टिल ईण्डष्ट्रिजमा सञ्चालक आफैंले तालाबन्दी गरेका छन्।
जितपुर सिमरा उपमहानगरपालिकाको नितनपुरमा रहेको उद्योगमा कार्यरत रहेका मजदुरहरुलाई दिने सेवा सुबिधाको विषयमा विवाद हुँदा उद्योग व्यवस्थापनले अनिश्चितकालका लागि तालाबन्दी गरेको हो। व्यवस्थापनले तालाबन्दी गर्दा उद्योगमा कार्यरत झण्डै एक सय ७० मजदुरहरु विरोधमा उत्रिएका छन्।
मजदुर नेता ओमबहादुर क्षेत्रीले प्रत्येक बर्ष दशैँका बेला उद्योगले वितरण गर्दै आएको बोनस यसवर्ष नदिएकाले विरोधमा उत्रिएको बताए। ‘यसवर्ष दशैंमा उद्योग प्रशासनले विभिन्न बहाना बनाएर बोनस पनि बितरण गरेन’, क्षेत्रीले भने ‘दशैंको विदा सकेर उद्योगमा काम गर्न आउँदा गेटमा तालाबन्दी गरेर हामीलाई काम गर्नबाट रोकियो।’
असोज १३ गतेदेखि १६ गतेसम्म दशैं बिदा दिइएको र असोज १७ गते उद्योगमा काम गर्न आउँदा मुख्य प्रवेशद्वारमा उद्योग प्रशासनले सुचना टाँसेर तालाबन्दी गरेको उनले बताए। उद्योगमा कार्यारत मजदुरहरुले तह अनुसार प्रत्येक वर्ष एक जनाले ५० हजार देखि ७० हजार रुपैयाँसम्म बोनस पाउने गरेको क्षेत्रीले बताए।
भागवती स्टिल इण्डष्ट्रिजका वित्तीय प्रबन्धक दीपक प्रियादर्सीले उद्योगमा अहिले बोनसका साथ साथै बिभिन्न समस्या देखिएकाले बाध्य भएर तालाबन्दी गर्नु परेको तर्क गरेका छन्।
अहिले उद्योगको आर्थिक अवस्था कमजोर रहेको र त्यसमा पनि मजदुरहरुलाई बोनस, समाजिक सुरक्षा कोष, दशैंको एक महिनाको तलब, हालै सरकारले नयाँ लागु गरेको न्युनतम पारिश्रमिक लगायत अवस्थाले वार्षिक उद्योगलाई करोडौ भार पर्ने देखेर नै सञ्चालकले बाध्य भएर ताल्चा लगाएको प्रियादर्सीले बताए।
बोनस बाड्दा ९० लाख र नयाँ लागु गरिएको न्युनतम पारिश्रमिक अनुसार तलब दिदा लगभग ७६ लाख, ओभर टाइम, समाजिक सुरक्षा कोष लगायतमा गरेर झण्डै दुई करोड रुपैयाँ आर्थिक भार हुने अवस्था रहेको उनको भनाइ छ।
उद्योगको आर्थिक अवस्था कमजोर भएको समयमा मजदुरहरुले सहयोगी भूमिका खेल्नुको साटो विरोध गर्नु दुखद् भएको बताउँदै उनले श्रम नियावलीमा वर्ष दिनमा उद्योगहरुमा १३ दिन बिदा दिने उल्लेख गरे पनि यस उद्योगका मजदुरहरुले १४ दिन बिदा लिने गरेको उल्लेख गरे ।
सरकारले न्युनतम पारिश्रमिक बढाएपछि सोभन्दा बढी पारिश्रमिक लिने मजदुरले पनि बढाएर दिनु पर्ने तर्क गर्न थालेको उनले बताए । प्रियादर्शीले उद्योगमा देखिएको समस्या बारे जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय वीगरन्ज लगायतमा लिखित जानकारी गराएको बताए।
२०४७ सालदेखि सञ्चलनमा रहेको भागवती स्टिल ईण्डष्ट्रिज वीरगन्ज–पथलैया औद्योगिक करिडोरको पुराना उद्योगहरु मध्येका एक उद्योग हो।
प्रकाशित: २१ आश्विन २०८२ १८:५५ मंगलबार





-1200x560-600x400.jpg)