२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

कास्कीका मौरीपालकले गाउँमै दिँदै छन् रोजगारी

कास्कीको मादी गाउँपालिका–११, तोगीका किसान पृतिराज लामिछानेले गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने देखाएका छन्। उनले मौरीपालन व्यवसायबाट वार्षिक रुपैयाँ ६० लाखभन्दा बढी आम्दानी गर्दै गाउँमै रोजगारी सिर्जना गरेका छन्।

समुद्री सतहदेखि करिब १५०० मिटर उचाइमा रहेको विकट तोगी गाउँमा रहे पनि लामिछानेले आधुनिक घारमा १०० भन्दा बढी मौरी घुमाएर मह उत्पादन गर्दै आएका छन्। यसबाट उनी मात्र नभई गाउँमै केही काम गर्न सकिन्छ भन्ने उदाहरण पनि बनेका छन्।

लामिछानेका अनुसार, २०४८ सालमा ‘तालबेँसी–किसानदेखि किसान’ संस्थामा अनुभव पाएपछि गाउँमै मौरीघार निर्माण र मह उत्पादन सुरु गरेका हुन्। उत्पादन गरिएको मह र घार पोखरा, कास्की, गोरखा, स्याङजा र म्याग्दी जिल्लामा बिक्री भइरहेको छ।

उनले घरजग्गा खरिद गर्नुका साथै आफ्ना चार छोराछोरीलाई पढाउन पनि सफल भएका छन्। “चार फ्रेम मौरीसहितको आधुनिक घार रु १५ हजार, खाली घार रु ५ हजार ५००, र प्रति केजी मह रु १ हजार ५०० मा बेच्दछु। बजारमा माग निकै बढी छ,” लामिछानेले भने।

अघिल्लो वर्ष मात्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई करिब रु ३८ लाख मूल्य बराबरको घार र मह बिक्री भएको थियो। यहाँको वातावरण, स्वच्छ हावा र स्थानीय वनस्पति भएका कारण उत्पादित मह अर्गानिक गुणस्तरीय भएको छ।

मौरीपालन व्यवसायले लामिछानेलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ र गाउँमै युवा रोजगार सिर्जना गर्न सहयोग पुगेको छ। मौरीघार उद्योगमा स्थानीय एकजनासँगै एक विदेशी नागरिकले दैनिक रोजगारी पाएका छन्। स्थानीय कर्मचारीको मासिक तलब रु ३५–४५ हजार रहेको छ।

सो गाउँका अर्का किसान विनोद ढकालले पनि पाँच घार मौरीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। गाउँका घर, जंगलका रुखमा समेत मौरीघार राखेर व्यवसाय बढाइएको छ। वार्षिक रु १ लाख ५० हजार मूल्य बराबरका १०–१५ घार जङ्गलबाट संकलन गरिन्छ।

मादी गाउँपालिकाले तोगीलाई महको पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना बनाउँदै हरेक वर्ष किसानसँग खरिद गरी अन्य वडाका किसानलाई वितरण गर्ने अभियान पनि सञ्चालन गर्दै आएको छ। यसले गाउँमै बसेर पनि स्थायी आय आर्जन गर्न सकिने सम्भावना देखाएको छ।

 

प्रकाशित: २२ माघ २०८२ १७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App