नेपालमा जलविद्युत् निर्माणमा निजी क्षेत्रको प्रवेशपछि बिजुली उत्पादनले गति लिएको छ। नेपालको कुल विद्युत् उत्पादनमध्ये ८० प्रतिशत बिजुली निजी क्षेत्रले उत्पादन गरेको छ। मुलुकमा तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन भएकोमा निजी क्षेत्रले मात्र २७ सय ४० मेगावाट विद्युत् उत्पादन गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले जनाएको छ।
निजी क्षेत्रले धमाधम विद्युत् आयोजना अघि बढाइरहेको अवस्थामा निजी क्षेत्रले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ३४१.५ मेगावाटको बुढीगण्डकी जलविद्युत् परियोजना निमार्ण अघि बढ्ने भएको छ।
करिब ७० अर्ब रूपैयाँ लाग्ने परियोजनका लागि लगानी जुटेको छ। अर्धजलाशय प्रकृतिको यो आयोजनाको ७० अर्ब रूपैयाँ लगानीमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइने भएको छ।
गोरखा जिल्लाको धार्चे र चुमनुब्री गाउँपालिकामा निर्माण हुन लागेको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि नौ वटा बैंक र एक कम्पनीले ५२ अर्ब ५० करोड रूपैयाँ ऋण लगानी गर्ने भएका छन्।
अर्थमन्त्री विष्णु पौडेल र ऊर्जा मन्त्री दीपक खड्काको रोबहरमा बिहीबार निर्माण कम्पनी टाइम्स इनर्जी प्रालि र बैंकहरूबीच सम्झौता भएको छ। सम्झौतामा बैंकहरूका तर्फबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र बुढीगण्डकीका तर्फबाट प्रवर्धक कम्पनी टाइम्स इनर्जीको प्रतिनिधित्व साहस ऊर्जाका निर्देशक सुशील थापाले हस्ताक्षर गरेका छन्। टाइम्स इनर्जी साहस ऊर्जाको सहायक कम्पनी हो।
एनआइमएबी बैंकको नेतृत्वमा अन्य बैंकहरूले लगानी गरेका छन्। उक्त परियोजनामा एनआइएमबी बैंकले १० अर्ब रूपैयाँ लगानी गर्ने भएको छ। त्यसैगरी लक्ष्मी सनराइज बैंकले आठ अर्ब, नबिल बैंकले आठ अर्ब, ग्लोबल आइमई बैंकले सात अर्ब, माच्छापुच्छ«े बैंकले चार अर्ब, प्रभु बैंकले तीन अर्ब, नेपाल पूर्वाधार बैंक लिमिटेड तीन अर्ब, सिटिजन्स बैंक तीन अर्ब र कृषि विकास बैंकले दुई अर्ब ५० करोड ऋण लगानी गर्ने भएका छन्। त्यसैगरी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) चार अर्ब रूपैयाँ लगानी गर्ने भएको छ।
परियोजनाका लागि लगानी सुनिश्चित भएको बुढीगण्डकीको प्रवर्धक कम्पनी साहस ऊर्जाका अध्यक्ष हिम पाठकले बताए। आयोजनामा प्रतिमेगावाट २० करोड ५३ लाख रूपैयाँका दरले ७० अर्ब खर्च हुने बताइएको छ।
अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना गोरखाको धार्चे–१ र ३ तथा चुमनुब्री गाउँपालिका–३ मा निर्माण हुनेछ। आंशिक–जलाशय अर्थात् आयोजना पिकिङ रन अफ दि रिभर (पि–आरओआर) प्रकृतिको यस आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारामा रहनेछ।
वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुने गरी आयोजना डिजाइन गरिएको छ। आयोजनाको बिजुली बेच्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद÷बिक्री सम्झौता (पिपिए) भइसकेको छ। आयोजनाको बिजुली प्रतियुनिट मुख्य सुक्खा समयमा १०.५५ रूपैयाँ, सामान्य सुक्खा समयमा ८.४० रूपैयाँ र वर्षाको समयमा ४.८० रूपैयाँका दरले खरिद सम्झौता भएको कम्पनीले जनाएको छ।
यो आयोजनामा साढे ६ किलोमिटर लामो सुरुङ निर्माण गर्ने गरी डिजाइन गरिएको छ। आयोजनामा ६०.४३ मेगावाट क्षमताका ६ वटा टर्बाइन रहन्छन्। विद्युत् परियोजनाको हेड ३९८ मिटर हुनेछ। परियोजनाबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन गर्ने लक्ष्य छ।
बूढीगण्डकी नदीमा बाँध बाँधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइने छ। भूमिगत विद्युत्गृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्बाइन प्रयोग गरिनेछ। उत्पादित विद्युत् विद्युतगृहदेखि करिब ४५ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) द्वारा निर्माण हुने ४०० केभीको नुवाकोटको रातमाटे सबस्टेसनमा जोड्ने योजना छ।
प्रकाशित: २३ श्रावण २०८२ ०७:५५ शुक्रबार





