३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

नक्कली ऋणी बनाएर बैंककै कर्मचारीबाट पाँच करोड हिनामिना

सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगरस्थित राजवंशी चोक शाखाबाट करिब ५ करोड रुपैयाँ हिनामिना भएको छ ।  

बैंकको शाखामा  ४ करोड ९१ लाख रुपैयाँभन्दा बढी वित्तीय हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेपछि हिनामिनाको घटना बाहिरिएको हो ।

बैंकको आन्तरिक छानबिनका क्रममा नक्कली ऋणी खडा गरेर ठुलो परिमाणमा रकम दुरुपयोग भएको पाइएपछि बैंक प्रशासनले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको हो ।  

हिनामिना प्रकरणमा बैंकका कर्मचारीहरूकै प्रत्यक्ष संलग्नता देखिए पछि बैंकले ५ जना कर्मचारीलाई निलम्बन गरेर छानविन समेत थालेको छ । बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार आकस्मिक लेखापरीक्षणका क्रममा ऋण लगानीमा शंकास्पद विवरणहरू भेटिएका थिए ।  

चाडपर्वको समय पारेर केही कर्मचारीको मिलेमतोमा नक्कली ऋणीका नाममा ऋण प्रवाह गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बैंकले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले बैंकबाट रकम हिनामिना भएको भन्दै उजुरी आएको बताए । उनले उजुरीका विषयमा गम्भीरताका साथ अनुसन्धान भइरहेको  र अनुसन्धान पछि मात्रै को–को संलग्नछन् भन्ने खुल्ने स्पष्ट पारे ।  

प्रकाशित: ३ चैत्र २०८२ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App