साढे पाँच महिनाभन्दा बढी समयदेखि बन्द भएको रसुवागढी नाका आगामी पुस १७ गतेबाट औपचारिक रूपमा सञ्चालन हुने भएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी पन्थीका अनुसार २०८२ साल असार २४ गते भोटेकोसी नदीमा आएको बाढीबाट क्षति भएको रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुलमा बेलीब्रिज निर्माण सम्पन्न भई आइतबार केही गाडीसमेत ओहरदोहर भइसकेका छन्।
औपचारिक रूपमा नाकामा सञ्चालनमा भने आएको होइन। उनका अनुसार नेपाल सरकार र चीनियाँ सरकारको द्विपक्षीय पहल, समन्वय र सहजीकरणमा उक्त स्थानमा बेलीब्रिज निर्माण भई भारवहन क्षमता लगायतका प्राविधिक पक्षहरू समेत परीक्षण भइसकेको अवस्था छ।
पुल भत्किएपछि पुल पारी चीनियाँ क्षेत्रमा लामो समयदेखि रोकिएका गाडी ल्याउन केही नेपाली कामदार र ड्राइभर आइतबार (आज) पुल पारी गइ नेपालतिर ल्याइसकेका छन्।
आइतबार करिब ८० वटा यस्ता गाडी पुलपारीबाट पुल हुँदै नेपाल भित्र्याइयो भन्ने जानकारी आएको छ’, पन्थीले भने, ‘तर नाका भने अग्रेजी नयाँ वर्ष (पुस १७) बाट गतेबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।’
‘रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति भएपछि दुई देशीय नाका पूर्ण रूपमा अवरुद्ध रहेको र सडक सम्पर्क विच्छेद भएको विषय विदितै छ’, जिल्ला प्रशासन कार्यालय रसुवाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नाका सञ्चालनको विषयमा विभिन्न व्यक्ति, संस्था, निकाय, व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवालाहरूले यस कार्यालयमा बारम्बार जिज्ञासा राखेको सन्दर्भमा चिनियाँ समकक्षी पक्षबाट यस कार्यालयलाई जानकारी गराए अनुसार पुस १७ गतेबाट सञ्चालनमा ल्याउने तयारी भएको छ।’
नेपाल सरकारले रसुवागढी नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ मा ४० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो तर करिब ६ महिना हुन लाग्दा समेत उक्त नाकाबाट एक रुपैयाँ पनि राजस्व उठ्न सकेको छैन।
रसुवागढी नाका बन्द हुँदा नेपाली व्यापारीहरूले मुस्ताङको कोरला तथा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै चीनबाट सामान आयत तथा निर्यात गरेका थिए। यसबाट व्यवसायीहरू चर्को मारमा परेका थिए। उक्त क्षेत्रमा नाका बन्द हुँदा रसुवागढीस्थित भन्सारमा कार्यरत नेपाली कर्मचारीहरूले काम पाएका थिएनन्।
रसुवागढी नाका बन्द हुँदा कम्तीमा २० अर्ब रुपैयाँ राजस्व गुमेको अनुमान गरिएको छ। अब उक्त नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि उक्त नाकाबाट सरकारले लिएको लक्ष्यअनुसार राजस्व नउठ्ने निश्चित छ।
गत असार १४ गते भोटेकोसीमा आएको बाढीले रसुवागढी नाकामा मितेरी पुल लगायत त्यस क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। त्यस दिन बाढी बजारमै पसेको थियो। पुल भत्किएपछि त्यस नाकामा चिनियाँ पक्षले नै बेलीब्रिज बनाइदिएको हो। बेलीब्रिज बनाउन झन्डै पाँच महिना लागेको थियो।
चिनियाँ पक्षले बेलीब्रिज तयार गरेपछि उक्त नाका भएर काठमाडौं तथा रसुवागढी क्षेत्रसम्म आवातजावात गर्न सडकमा खासै समस्या नभएको सडक विभागका कर्मचारीहरूले जनाएका छन्।
विभागका महानिर्देशक डा. विजय जैशीले गल्छी, स्याफ्रुबेंसी– रसुवागढी सडकमा मालवाहक तथा अन्य सवारी साधानमा आवतजावत गर्न खासै समस्या नभएको बताए।
‘हामीले यतातिर सडक करिब–करिब बनाइसकेका छौं। अब खासै समस्या छैन’ डा. जैशीले भने, ‘दुई/तीन ठाउँमा बाटो एकतर्फी भए पनि अधिकांश ठाउँमा दुईतर्फी सडक तयार भइसकेको छ।’
विभागले उक्त क्षेत्रमा दुई लेनको पक्की सडक तयार गर्न काम सुरु गरिरहेको छ। काम सुरु भइरहेको बेला गत असार २४ गते आएको बाढीले उक्त सडकका धेरै ठाउँमा क्षति पुर्याएको थियो।
प्रकाशित: १४ पुस २०८२ ०९:१२ सोमबार





