१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

जुम्लामा सात हजार मेट्रिक टनले घट्यो स्याउको उत्पादन

स्याउ उत्पादनको केन्द्रका रूपमा परिचित जुम्लामा यस वर्ष स्याउ उत्पादन र आम्दानी दुवैमा तीव्र गिरावट देखिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा स्याउ उत्पादन ७ हजार ५ सय ११ मेट्रिक टनले घटेको छ भने आम्दानीमा झण्डै २८ करोड ३३ लाख रुपैयाँको क्षति भएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार यो वर्ष जिल्लामा जम्मा १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ, जुन विगत दुई वर्षयताकै सबैभन्दा न्यून स्तर हो। गत वर्ष २० हजार ५ सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको थियो।

उत्पादनसँगै निर्यात र आम्दानीमा पनि गिरावट आएको छ। कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार हालसम्म (साउनदेखि असोजसम्म) ४ हजार ७ सय २५ मेट्रिक टन स्याउ जिल्लाबाहिर निर्यात गरिएको छ। मङ्सिर दोस्रो सातासम्म थप स्याउ बिक्रीको सम्भावना रहे पनि गत वर्षको तुलनामा आम्दानीमा भारी गिरावट आउने प्रष्ट संकेत देखिएको छ। गत वर्ष जुम्लाले ६१ करोड ४१ लाख रुपैयाँ बराबरको स्याउ बिक्री गरेको थियो भने चालु वर्षको हालसम्मको बिक्री ३३ करोड ७ लाख ५० हजार रुपैयाँ मा सीमित छ। बाँकी स्याउको बिक्री जारी रहे पनि कुल आम्दानीमा झण्डै २८ करोड ३३ लाख ५० हजार रुपैयाँको घाटा हुने अनुमान छ।

जुम्लाका ८ वटै स्थानीय तहका २४ हजार ८ सय ३८ घरधुरीमध्ये ७०.५ प्रतिशत (१९ हजार २ सय ५८ घरधुरी) स्याउ खेतीमा संलग्न छन्। किसानहरूका अनुसार एक परिवारले स्याउ खेतीबाट वार्षिक १ लाखदेखि ६ लाख रुपैयाँसम्मको आम्दानी गर्दै आएका छन्।यता सिंजा गाउँपालिका–६ का किसान बाँचे बुढाका अनुसार यस वर्ष बगैँचामै प्रतिकिलो स्याउको मूल्य ६० रुपैयाँदेखि ७५ रुपैयाँसम्म पुगेको छ। 'मूल्य राम्रै भए पनि फल नलाग्दा समग्र आम्दानी घट्यो,' उनले भने।

कृषि कार्यालयका तथ्यांक अनुसार चालु वर्षमा स्याउ खेती गरिएको क्षेत्र ४ हजार ४ सय ४५ हेक्टर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही वृद्धि हो। तर, फल लागेको क्षेत्र भने घटेर २ हजार १ सय २५ हेक्टर मा मात्र सीमित भएको छ। विगत वर्षहरूमै औसतभन्दा कम वर्षा, हिउँदे समयमा असमयको हिमपात र केही क्षेत्रमा कीरा रोग लाग्दा फल लाग्ने अनुपात घटेको कृषि विज्ञहरू बताउँछन्।

हाल जुम्लामा उत्पादन भइरहेको जातहरूमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, जनाधन, तथा उन्नत जातमा फुजी, गाला र इटालियन छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका स्टार किमसन डेलिसियस, बाइट एन अर्ली र स्टार्क स्पर गोल्डेन जातमा अहिले अध्ययन भइरहेको छ।

कृषिविज्ञहरू भन्छन्, 'उन्नत जातको प्रवर्द्धन, आधुनिक कृषि प्रणालीको प्रयोग र किसानलाई समयमै प्राविधिक सहयोग पुर्‍याउन सके मात्र उत्पादनमा सुधार ल्याउन सकिन्छ।' जुम्लाका ७ गाउँपालिका र १ नगरपालिकासहित सबै ६० वडामा स्याउ खेती भइरहेको भए पनि उत्पादनमा आएको निरन्तर गिरावटले स्याउको राजधानीको पहिचान जोगाइराख्न चुनौती थपिएको छ।

प्रकाशित: २८ आश्विन २०८२ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App