निरन्तरको वर्षा र त्यसपछिको अवरोधले रोकिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा आंशिक खुला भएको छ। अन्नपूर्ण क्षेत्रका केही पदयात्रा रुट विदेशी पर्यटकका लागि खुला गरेसँगै पाहुना जान थालेका छन्। कतिपय रुटको पदयात्रा भने अझै खुल्न सकेको छैन। मौसम नबिग्रेमा अबका केहीदिनमा सबैतिरका पदमार्ग खुला हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अपेक्षा छ।
एक्यापका फोकल फर्सन नरेन्द्र श्रेष्ठका अनुसार अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग मंगलबारदेखि पूर्ण रुपमा खुला भएको छ। विदेशी पर्यटकहरु धमाधम अहिले एबिसीतिर उक्लिन थालेको उनले बताए। उनका अनुसार मंगलबार पहिलो दिन नै एबिसीका लागि भनेर झन्डै साढे ६ सय विदेशी पर्यटक छोमरोङबाट उकालो लागेका थिए। त्यो क्रम अहिले पनि चलिरहेको उनले बताए।
त्यस्तै अन्नपूर्ण क्षेत्रकै घान्द्रुक, घोरेपानीका लागि पनि पाहुना जान थालेका छन्। अर्को पदमार्ग मर्दी हिमाल पदमार्गको पदयात्राका लागि पदमार्ग खुलेको पहिलो दिन नै ३ सय जना पाहुना उकालो लागेका थिए।
‘लामो वर्षा र अवरोधपछि खुलेको पदयात्राका लागि पहिलो दिन नै झन्डै एकहजार पर्यटकले एक्यापबाट अनुमति लिएका थिए, अहिले पनि परमिट लिने क्रम बढिरहेको छ,’ श्रेष्ठले भने, ‘धेरैदिनसम्म रोकिएको पदमार्ग खुलेसँगै विदेशी पाहुनाको भीड बढेको छ।’
विश्वकै चर्चित अन्नपूर्ण फेरोका पदमार्ग भने अझै पूर्ण रुपमा खुलेको छैन। एक्यापका अनुसार अहिले अन्नपूर्ण फेरो अन्तर्गत पर्ने कोत्रोसम्म मात्र गाडी चल्छ। त्यसभन्दा माथि गाडीका लागि बाटोको पहुँच अवरुद्ध छ। त्यसैले पर्यटक कोत्रोसम्म मात्र गाडीमा जान सक्छन। मनाङको चामेबाट माथि अहिले पर्यटकलाई जान दिइएको छैन।
चामेमा पाँचदिन अघि झरेको भीषण पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि पदमार्ग रोकिएको छ। चामेमा थुनिएको नदीको वहाव खुलाउने प्रयास भईरहेको र वहाव खुलेर पुलको आवागमन खुल्नासाथ अन्नपूर्ण फेरोको पदयात्रामा पर्यटक पठाउन सकिने उनले बताए। त्यस्तै फेरोको पदमार्ग अन्तर्गत थोराङला फेँदी क्षेत्रमा पनि बाक्लो हिउँ जमेकोले पदयात्रा खुलिसकेको छैन।
माथिल्लो मनाङ क्षेत्रमा खासै पर्यटक रोकिएका छैनन। वर्षा सुरु हुनु अगावै पुगेका पर्यटक फर्किसकेका छन्। तलबाट जाने पर्यटक चामेमै रोकिएकोले पनि अहिले माथिल्लो मनाङमा पाहुना नरहेको उनले सुनाए। ‘थोराङलाको पदयात्राका लागि चामेको अवरोध खुुल्नुपर्छ, त्यो अहिलेका लागि बाँकी नै छ, छिटोगरि बाटो खुलाउने प्रयास भईरहेको छ,’ श्रेष्ठले भने, ‘अन्नपूर्ण फेरोको पदयात्रा आंशिक मात्र खुला छ, त्यो पनि पैदल मात्र हुन्छ।’
अर्काे हिमाली जिल्ला मुस्ताङ भने सञ्चार सम्पर्कबाट बिच्छेद छ। त्यसबाहेक बेनी–जोमसोम सडक खण्ड पनि अवरुद्ध रहेकोले अहिले त्यो क्षेत्रमा पाहुना पठाइएको छैन। ‘जोमसोमतिर सञ्चार सम्पर्क विच्छेद छ। कालिगण्डकी करिडोर नखुलेसम्म मुस्ताङको यात्रा सहज हुँदैन,’ उनले भने, ‘पैदल हिड्नका लागि त खासै समस्या नहोला, तर, गाडीको यात्रा भने अवरुद्ध छ। मनाङ हुँदै गएर थोराङला पास गरेर मुक्तिनाथ ओर्लिएपनि त्यसपछि गाडी चढ्न पाइँदैन।’
.jpg)
एक्यापले बाढिपछिको यो समयमा विदेशी पर्यटकका लागि व्यक्तिगत नभई समूहमा मात्र पदयात्रा अनुमति जारी गरेको छ। अहिलेका लागि व्यक्तिगत रुपमा पदयात्रामा जान नपाइने एक्यापले बताएको छ। एक्लो व्यक्ति पदयात्रामा जान नपाउने, तर, साथमा गाइड लिएर भने जान पाइने उनले बताए।
व्यावसायीले पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा अप्ठेरो अवस्था सिर्जना भएपनि यतिबेला बल्ल सहज भएको बताएका छन्। माछापुच्छ्रे आधारशिविर (एमबिसी)का पर्यटन व्यावसायी दिलीप गुरुङ भन्छन, ‘पर्यटन क्षेत्रमा बाढिपहिरोले अवरोध गरेको थियो। अब भने खुला भएको छ। पाहुना पनि आउन थालेका छन्।’
सिजनको मुखैमा यो पटक रसुवा भोटेकोशीको बाढीका कारण नेपालमा विदेशी पाहुनाको आगमन प्रभावित भएको थियो। त्यसपछि निरन्तरको वर्षाले समस्या थपिदिएको भएपनि अहिले खुला भएको उनले बताए। ‘अब भने पर्यटक आउन थालेका छन्। झन्डै एकमहिनासम्म पर्यटकको आगमन रोकिएकोमा अब सुचारु भएको छ,’ उनले भने।
छोमरोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका एबिसीका व्यावसायी जगनराज गुरुङले पनि सोमबारदेखि पर्यटक एबिसीतिर उकालो लागेको बताए। ‘सोमबार थोरै संख्यामा मात्र पाहुना गएका थिए। मंगलबार भने पर्याप्त संख्यामा पाहुना एबिसी उक्लेका छन,’ उनले भने, ‘सुनसान रहेको पर्यटकीय पदमार्गमा चहलपहल बढेको छ। लामो समयपछि पाहुना पाउँदा व्यावसायी पनि खुसी छन्।’
उनले पनि पछिल्लो साताको वर्षाले पदमार्ग ठप्प भएपनि अब भने पाहुना आउजाउ गर्न थालेको बताए। ‘यो बेला पदमार्ग भरिभराउ हुनुपर्ने हो। तर, पाहुना आउन पाएका थिएनन। आएका पाहुना पनि पदयात्रामा जानबाट रोकिएका थिए। अब भने बाटो खुलेको छ, पदयात्रा सुचारु भएको छ,’ गुरुङले भने, ‘यो बेला ढुक्कले पदयात्रामा जान सकिन्छ। विदेशी पाहुनाको पदयात्रा सुरु भएको छ।’
प्रकाशित: १५ आश्विन २०८३ १५:४३ बिहीबार





-600x400.jpg)