३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

बाँझो जमिनमा धर्मराजको अर्ग्यानिक आलु क्रान्ति

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार किलो आलु फलाएका छन्।

सोही नगरपालिकाको वडा नं २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन १० वर्षका लागि भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गरेका धर्मराजले पहिलो वर्ष नै सो परिमाणमा आलु उत्पादन गरेका हुन्।

बाह्र वर्षदेखि जिल्लामै अर्ग्यानिक तरकारी र फलफूलखेती गर्दै आएका धर्मराजले उत्पादन गरेको आलु प्रतिकिलो रु ४५ मा बिक्री भइरहेको छ। वर्ष दिनअघि जग्गाधनी शेर्पासँग एक सय २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गरेका उनले तीन युवालाई रोजगारीसमेत दिएका छन्।

घरेलु र साना उद्योग कार्यालयमा ‘झिसेपु अर्ग्यानिक कृषि फार्म’ दर्ता गरेर व्यावसायिक कृषि पेसामा लागेका धर्मराजले उत्पादन गरेको आलुमध्ये एक हजार किलो बीउका लागि राखेर बाँकी बिक्री गर्ने तयारी गरेका छन्। उत्पादित आलुमध्ये करिब दुई हजार ८०० किलो शनिबार दिक्तेल बजारमा सञ्चालित होटल र पसलमा लगेर बिक्री गरेको धर्मराजले जानकारी दिए।

व्यक्तिगत लगानीमा व्यावसायिक आलुखेती र उन्नत जातका रायोको साग र मुलाको बीउ उत्पादन गर्ने अभियानमा लागेका धर्मराजले पाँच राँगा-भैँसी पालेका छन्। अर्ग्यानिक आलु उत्पादन गर्ने अभियानमा लागेका उनले त्यही राँगा-भैँसीको मलमूत्रसहित स्याउला र पत्कर प्रयोग गरेर बनाइएको मल आलुखेतीमा हाल्दै आएका छन्।

करिब ३०-४० वर्षदेखि बाँझो रहेको जमिन खनजोत गरेर व्यावसायिक खेती सुरु गरेका धर्मराजले गत माघमा ६०० किलो भोटाङ्गे जातको आलुको बीउ खरिद गरेर रोपेका थिए। कुनाखर्कमा उत्पादित अर्ग्यानिक आलुलाई खोटाङको ब्राण्ड बनाउने उद्देश्यले व्यावसायिक आलुखेती सुरु गरेको उनले बताए।

करिब रु ११ लाख लगानीमा सुरु गरेको आलुखेतीलाई आगामी वर्षदेखि थप विस्तार गर्दै लैजाने तयारीमा रहेको धर्मराजले बताए। ‘पहिलोपटक लगाइएको आलुले राम्रो उत्पादन दिएको छ। यसलाई थप विस्तार गर्दै ब्राण्डिङ गर्ने योजनामा छु,’ उनले भने, ‘आलुसँगै पशुपालन र तरकारीखेती गर्ने योजना छ। यसका लागि थप जनशक्ति खोजी गरिरहेको छु।’

अर्ग्यानिक कृषि उपज उत्पादन अभियानमा लागेका धर्मराजले सुरुमा वडा नं ३ बाम्राङस्थित झिसेपुमा व्यावसायिक रूपमा अर्ग्यानिक फलफूल र तरकारीखेती गरेका थिए। करिब १५ वर्षदेखि कृषि पेसामा आबद्ध उनले झिसेपुस्थित आफ्नै जग्गामा किबी, अलैँची, बेसार र अम्रिसोको व्यावसायिक खेती गर्दै आएका छन्।

कृषि पेसालाई आधुनिक र यान्त्रीकीकरण गर्दै व्यावसायिक बनाउने अभियानमा लागेका धर्मराजले जिल्लाका अन्य किसानलाई तालिमसमेत दिँदै आएका छन्। झिसेपुको फार्म सञ्चालनका लागि उनलाई श्रीमती र छोरा-छोरीले साथ दिने गरेका छन्।

पछिल्लो समय जिल्लाका धेरैजसो किसानले थोरै समयमा नै पर्याप्त आम्दानी गर्ने उद्देश्यका साथ रासायनिक मल प्रयोग गरेर फलफूल र तरकारी उत्पादन गर्ने गरेका छन्। रासायनिक मल प्रयोग गरेर उत्पादन गरिएका कृषि उपज उपभोग गर्नु मानव स्वास्थ्यका लागि सबैभन्दा हानिकारक हुने स्वास्थ्यकर्मीले बताएका छन्। रासस

प्रकाशित: २९ असार २०८२ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App