४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

कपिलवस्तुमा मलको हाहाकार, रासासयिनक मलमा भारत कै भर

कपिलवस्तुका किसानहरु लामो समयदेखि रासायनिक मल नपाउँदा मारमा परेका छन्। साउन तेस्रो सातापछि वर्षा भएर रोपाइँ र रोपिएको धानलाई आवश्यक पानी पुगेपनि मलखादको हाहाकार भएपछि किसान चिन्तित बनेका हुन्।  

धान खेतमा मल हाल्ने सयम हो अहिले, तर कपिलस्तुमा युरिया र डिएपी मलको चरम अभाव छ। चाहिने बेलामा मल नपाए पछि उनीहरु मर्कामा परेका छन। युरिया मल हाल्ने समय सकिन लागेको र डिएपी मल हाल्ने समय भएको छ। मलखादको अभावले यस वर्ष धानको उत्पादनमा असर पर्ने कृषकहरु बताउँछन ।  

मलका लागि कृषकहरु बजार र कृषि सामग्री कम्पनी लिमिटेडमा दिनहुँ धाउने गरेको गरे पनि रित्तो हात फर्कन बाध्य छन्। कृषि सामग्री, साल्टटेडिङ र कृषि सहकारीमा मल नपाए पछि कृषकहरु भारतीय बजारमा भर पर्न थालेका छन्।  उनीहरु वर्षौदेखि लुकिछिपी भारतबाट मल ल्याएर खेतबारीमा लगाउँदै आएका छन् ।  

कपिलवस्तु नगरपालिका– ३ बरन्डीहवाका कृषक राका यादवले युरिया मलका लागि एक महिनासम्म कृषि सामग्री धाए पनि नपाएको गुनासो गरे । कृषि सामग्रीले आफ्नो वडामा रहेको कृषि सहकारीमा जान भनेको र कृषि सहकारीले मल नै नभएको भनेर फिर्ता पठाउने गरेको उनले गुनासो गरे । ‘हामी कृषकले मल, बिऊ सिंचाई केही पनि पाएनौं । सबै नेताहरुले झुक्याउने काम मात्र गरे’ उनले भने । दौडधुप गर्दा पनि मल नपाएपछि उनले भारतबाट किनेर ल्याएर खेतमा मल हालेको बताए । अभाव कै मौका छोपी केही ब्यापारीले भने कालोबजारी समेत गरीरहेको उनले आरोप लगाए ।  

मलको लागि सदरमुकाम धाउदा पनि नपाएर आत्तिएका यशोधरा गाउँपालिका–१ तिर्तिखीका कृषक दिपेन्द्र प्रकाश गुप्ताले ‘धान खेतमा तत्कालै मल छर्नु पर्ने छ तर कही पाईएको छैन।’  

जिल्लाका १० स्थानीय निकायमा रहेको कृषि सहकारीमार्फत् आलोपालो मिलाएर मल बिक्री गर्ने गरिएको छ । जिल्लाको तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामग्री कम्पनी तथा साल्टट्रेडिङमार्फत् मल उपलब्ध गराईने गरिएको छ । भारतमा समेत मलको अभाव भएपछि भारतीय सुरक्षाकर्मीले समेत काडाइ गर्दा नेपाली कृषकहरु थप मर्कामा परेका छन्। उत्तरी भेगका कृषकहरु भने युरिया मलको अभावका कारण धेरै मर्कामा परेको कृषक डिलाराम भुसालले बताए ।  

जिल्लाका १० पालिकामा रहेका कृषि सहकारीमार्फत् मल बेच्नका लागि प्रदेश सरकारले ११ हजार ८७ दशमलव ६०६ मेट्रिक टन युरिया, ७ हजार १ सय ४८ दमलव ६०२ मेट्रिक टन डिएपी र ७ सय ८९ दशमलव ९१७ मेट्रिक टन कृषि चुनको यस आर्थिक वर्षका लागि कोटा निर्धारण गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लालाई ३३ हजार ५ सय १८ दशमलव ९४ मेट्रिक टन युरिया, १२ हजार ४ सय ८४ दशमलव  ८ सय ३८  डिएपी र ११ हजार ५ सय ८ दशमलव ५ सय २४  मेट्रिक टन पोटास आवश्यक पर्छ ।  

गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लामा ८ हजार १ सय ८२ मेट्रिक टन युरिया, ४ हजार ६८ मेट्रिक टन डिएपी र ४ सय ४२ दशमलव ६५ मेट्रिक टन पोटास आएको थियो ।  मल कृषि सामग्रीको तौलिहवा बहादुरगंज र साल्टेडिङ मार्फत कृषि सहकारीले लैजाने गर्छन । तर ती सहकारीले आफना सदस्यलाई मात्र भाग लगाएर बेच्ने गरेका छन् ।

कृषक महासंघका जिल्ला सचिव बालगोबिन्द त्रिपाठीले कृषकहरु मल नपाउँदा धेरै मारमा परेको बताए । मलको सहज आपुर्तिको बैकल्पिक ब्यवस्था गर्नु पर्ने उनले माग गरे । कृषि ज्ञान केन्द्र कपिलवस्तु अनुसार जिल्लामा साढे ६५ हजार बढी हेक्टरमा यसवर्ष धान लगाइएको छ । ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले जिल्लामा धान र गहुँ खेतीका लागि चाहिने आवश्यक मल भन्दा निकै कम मात्र मल उपलब्ध हुने बताए । कृषि सामग्री तौलिहवा र बहादुरगंजमा गरी २ सय ६४ सहकारी तथा साल्ट्रेडिङबाट १ सय १४ सहकारीलाई पालिकाको सिफारिस अनुसार मल उपलब्ध गराउने गरिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने जिल्ला कपिलवस्तु हो ।  

 

प्रकाशित: १७ भाद्र २०८२ १९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App