१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
अर्थ

तौलिहवामा साढे ११ करोड बढीको लागतका चिल्ड्रेन पार्क निर्माण हुने

बुद्धनगरी प्राचिन कपिलस्तुको तौलिहवास्थित गौढी चोकमा चिल्ड्रेन पार्क निर्माण हुने भएको छ। ११ करोड ६८ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको लागतमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित पोखरीमा माटो पटान गरी पार्क निर्माणको कार्य अघि बढाइएको हो।

१२ हजार ४ वर्ग मिटर क्षेत्रमा पार्क निर्माण गरिनेछ। क्षेत्रीय शहरी विकास परियोजना शहरी विकास तथा भवन निर्माण विभाग काठमाडौंको लगानीमा सो निर्माण गरिने तयारी गरिएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए। प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धमा तौलिहवाको चोक बजारमा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सबै नगरवासीको साथ आवश्यक रहेको मेयर पौडेलले बताए।

चिल्ड्रेन पार्क निर्माणले तौलिहवा बजारमा रहेको नगरवासीलाई मनोरञ्जन सहीत रोजगारी सूजना हुने उनले बताए। ‘पार्क निर्माणले बुद्धनगरीको सौन्दर्य समेत बढने छ, मानिसहरूको चहलपलह बढेसंगै रोजगारी र आय समेत बढनेछ,’ उनले भने।

सो अवसरमा वडाध्यक्ष जाहिदा खाले यो परियोजना वडा र नगरकै गौरवको काम रहेको बताए। उनले यो कार्यमा सबैले साथ दिनुपर्ने र आउने बिबादलाई मिलेर समाधान गर्नुपर्ने बताए। अगुवा देबीप्रसाद बर्माले पार्क निर्माण गर्न पहिले जग्गाको यकीन हुनु पर्ने बताए। 

पार्क निर्माणमा सबैभन्दा ठुलो चुनौती जग्गाको यकीन र सरसफाइको रहेको छ। पोखरीको चारैतिर घर निर्माण गरिएको छ। अधिकांशले पोखरीमा नै फोहर र दिशापिसाब फाल्ने स्थलका रूपमा प्रयोग गरिएको छ। परियोजनाको डोहवा इञ्जिनियरिङ ईन एशोसियसन बिथ ईआरएमसि, सिल्ट र डिजिकन परार्मदाता रहेका छन्।

वातावरणविद् अखन्डराज उत्प्रेतीले सबै पक्षसँग छलफल र अनुसन्धान गरी प्रारम्भिक वातावराणीय परीक्षण प्रतिवेदन तयार गर्ने बताए। पार्कको नाम गौतम बुद्ध चिल्ड्रेन पार्क हुनु पर्ने सहभागीले सुझाव दिएका छन्। वाटर प्ले १४ सय ७२ वर्ग मिटर र प्रशासनिक भवन तथा स्पोर्टस् कोर्ट १ सय ४ दशमलव ५ वर्ग मिटरमा हुनेछ।

प्रकाशित: १५ मंसिर २०८२ २१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App