२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङः शारिरिक समस्या देखिएका पाइलटलाई उडानमा रोक

पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दै। फाइल तस्बिर/ नागरिक

स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भिर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक समेत लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो।

प्राधिकरणका प्रबन्धक मुकेशराज दाहालका अनुसार स्वास्थ्य परीक्षण गराउँदा केही पाइलटको स्वास्थ्य समस्या रहेको पाइएको छ। ‘प्याराग्लाइडिङ उडानलाई व्यवस्थित र सुरक्षित बनाउन पाइलटको स्वास्थ्य परीक्षण गर्दा केही पाइलटमा समस्या भेटिएको र उनीहरुको स्वास्थ्यमा सुधार नआएसम्म उडान नगर्न भनिएको छ,’ दाहालले भने, ‘कुनै समस्या नहुने पाइलटले भने उडान गर्न सक्नेछन्।’

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगिता दौरान प्रतिश्पर्धा गर्दा खेलाडी निसिम थापामगरको दुर्घटनामा परेर ज्यान गएपछि प्राधिकरणले पोखराको आकाशमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। छानविन पछि व्यवसायिक (टेण्डम)उडान गर्न प्राधिकरणले अनुमति दिएपनि पोखराको आकाशमा हुने एकल (सोलो) उडान अझै सुरु भएको छैन। दुर्घटनापछि रोकिएको उडान सुचारु गर्दा प्राधिकरणले प्याराग्लाइडिङ व्यवसायिको छाता संस्था हवाई खेलकुद संस्था(ना)सँग सर्त राख्दै प्याराग्लाइडिङ उडान गर्ने सबै पाइलटको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएको थियो । त्यसपछि पाइलटले स्वास्थ्य परीक्षण गराएका थिए।  

प्राधिकरणका प्रबन्धक दाहालका अनुसार २७० जना पाइलटले प्राधिकरणकै चिकित्सकसँग स्वास्थ्य परीक्षण गराएका थिए। ती मध्ये २४० जनामा कुनै समस्या देखिएको थिएन बाँकी पाइलटमा स्वास्थ्य समस्या देखिएको थियो। सामान्य स्वास्थ्य समस्या देखिएका पाइलटलाई एकमहिना समय दिइएको उनले बताए। दाहालकै संयोजकत्वमा चिकित्सक सहितको टिमले पाइलटको स्वास्थ्य परीक्षण गराइएको थियो।  

अहिले सामान्य समस्या देखिएका पाइलटले एकमहिनापछि पुन स्वास्थ्य परीक्षण गराउने र उनीहरुमा समस्या नदेखिए उडान गर्न दिइने उनले बताए। १५ दिनभित्र पनि स्वास्थ्य परीक्षण नगराउने पाइलटलाई उडान अयोग्य ठह¥याउने निर्णय पनि प्राधिकरणले गरेको छ। प्राधिकरणले तोकेको स्वास्थ्यकर्मीसँग परीक्षण नगराए ती पाइलटले उडान गर्न नपाउने उनले बताए।  

श्रोतका अनुसार कतिपय पाइलटको मुटुमा समस्या देखिएको छ। मुटुमा समस्या देखिएका पाइलटलाई मुटुरोग विशेषज्ञसँग परीक्षण गराउन निर्देशन दिइएको छ। त्यसैगरि १२ जना पाइलटको आँखामा कमजोरी रहेको पाइएको छ। उनीहरुलाई एकमहिनापछि फलोअप गरि स्वास्थ्य परीक्षण गर्न लगाइएको छ। त्यसैगरि कपितय पाइलटको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध प्रयोग गरेको रिपोर्ट आएको छ। लागुऔषध प्रयोग गरेको भेटिएका ती पाइलटलाई ६ महिनासम्म उडानमा सरिक हुन नपाउनेगरि निलम्बन गर्ने र ६ महिनापछि ती पाइलटको पुनः स्वास्थ्य परीक्षण हुनेछ। स्वास्थ्य परीक्षणको रिपोर्टपछि मात्र उडान गर्न दिइने श्रोतले बतायो।  

‘स्वास्थ्य परीक्षण गर्दा लागुपदार्थ प्रयोग गरेको पुष्टि भएको छ। उनीहरुलाई ६ महिनाका लागि उडानमा रोक लगाइएको हो,’ श्रोतले भन्यो, ‘स्वास्थ्यमा सुधार आएपछि कुनै समस्या नदेखिए ६ महिना पछि उनीहरुले पनि उडान गर्न पाउनेछन्।’ उडानमा उत्तेजना जगाउने गरि लागुऔषध प्रयोग गरेको रिपोर्ट पाइलटको स्वास्थ्य परीक्षण गराउँदा पुष्टि भएको थियो।

त्यसैगरि चारजना पाइलटमा कान नसुन्ने समस्या फेला परेको छ। उनीहरुलाई पनि ६ महिनासम्म उडान गर्नमा रोक लगाइएको छ। त्यस्तै आँखाले ‘कलर’ फरक छुट्याउन नसक्ने ७ जना पाइलटलाई पनि ६ महिनासम्म उडान गर्न नपाउने गरि निलम्बन गरिएको छ। ६ महिनापछि पुन परीक्षण गर्दा स्वास्थ्यमा सुधार देखिएमा ती पाइलटले पनि उडान गर्न पाउनेछन। ‘तत्कालका लागि केही पाइलट उडान गर्नबाट रोकिन्छन। उनीहरुको स्वास्थ्यमा सुधार आएपछि उड्न पाउँछन,’ श्रोतले भन्यो। प्राधिकरणले पाइलटमा स्वास्थ्य समस्या रहेको फेला पारेपछि अब छड्के गर्दै परीक्षण गर्ने पनि तयारी गरेको छ।  

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराइले पनि केही पाइलटको स्वास्थ्यमा समस्या रहेको परीक्षणका क्रममा फेला परेको बताए। उनका अनुसार पाइलटको आँखा, कान, मुटुमा समस्या देखिएको छ। त्यस्तै केही पाइलटले लागुपदार्थ प्रयोग गरेको पनि पुष्टि भएको छ स्वास्थ्यमा समस्या हुने पाइलटलाई केही महिना उडानमा रोक लगाउने गरि प्राधिकरणले निर्णय गरेको भट्टराईले बताए। उनका अनुसार अब स्वास्थ्य परीक्षणमा असफल हुने पाइलटले उडान गर्न पाउने छैनन।  

‘पहिलो चरणमा छुट्ने पाइलटका लागि कारण देखाएर परीक्षणमा सहभागि हन पाउने गरि समय दिएको छ। पहिलो चरणमा छुट्नुको उचित कारण देखाउन नसक्ने पाइलटले अब दोश्रो पटकका लागि पर्खनुपर्छ। त्यो बेलासम्म उडान गर्न पाइदैन,’ स्वास्थ्य परीक्षणमा सफल हुनैपर्छ।’ अध्यक्ष भट्टराईका अनुसार अहिलेसम्म हवाई खेलकुद संस्था ना को सिफारिसमा ३७५ जना पाइलटले प्याराग्लाइडिङ उडानका लागि लाइसेन्स पाएका छन्। तर स्वास्थ्य परीक्षणमा सबै जना सहभागि थिएनन। केहीले नियमित उडान गर्न छाडेका छन् भने कतिपयले स्वास्थ्य परीक्षण गराएका छैनन। स्वास्थ्य परीक्षण नगराएका पाइलटले उडान गर्न पाउने छैनन।

प्याराग्लाइडिङ व्यवसायीले पोखराको गहनाको रुपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र व्यवस्थित बनाउनका प्राधिरकणले कदम चालेको बताएका छन्। ‘चारपांग्राले भुँइमा गुड्ने गाडी त ब्रेक लगाउन खोज्दा तोकिएको ठाउँमा रोकिन्न। प्याराग्लाइडिङ त आकाशमा उड्ने हो,’ एक जना व्यवसायीले भने, ‘स्वास्थ्यमा समस्या हुँदाहुँदै उडान गर्नु जोखिम मोल्नुहो। त्यसबाहेक लागुपदार्थको  प्रयोग गर्ने गरेको भनेर बेलाबेला गुनासा आउने गरेका थिए। बल्ल शुद्धिकरणको अभियान सुरु भएको छ। यो सकारात्मक पक्ष हो।’

स्वास्थ्यको हिसाबमा लापरवाही गर्न नपाइने उनले बताए। ‘पाइलटले गरेको गल्तिको मारमा निर्दाेष पर्यटकको ज्यान जानु हुँदैन,’ ती व्यवसायीले भने, ‘यसबारेमा सचेत हुनु आवश्यक छ। पोखराको प्याराग्लाइडिङ उडानमा सुधारको सुरुवात भएको मान्नुपर्छ।’

प्रकाशित: ३० कार्तिक २०७९ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App