१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बैंकविरुद्धको आन्दोलन स्थगित गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले चर्को ब्याजदरविरुद्धको आन्दोलन रोक्न आग्रह गरेको छ। मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गइरहेको विषयलाई मनन गर्दै हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघले सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थालाई आग्रह गरेको हो।

महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी यस्तो अनुरोध गरेको हो। निर्वाचन सफल पार्न आआफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन भनेको छ। महासंघले तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पुँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकसमक्ष माग गरेको छ।

बजारको न्यून मागका कारण व्यापार व्यवसाय प्रभावित भइरहेका बेला बढेको ब्याजदर र यही कात्तिकबाट केन्द्रीय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको महासंघले जनाएको छ। तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पुँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरू एवं वस्तुगत संघले राखेका मागप्रति महासंघले पनि ऐक्यबद्धता जनाएको छ।

निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसँग संवादमा रहने जनाएको छ। वार्ता एवं संवादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त रहेको जनाएको छ। निर्वाचनपछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हकहितका लागि थप कार्यक्रम घोषणा गर्ने जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App