टीकापुर नगरपालिकाको पुरानो सडकको स्तरोन्नतीको काम सुरु भएको छ। वडा नं. २ को कार्यालयले झण्डै ५० वर्षभन्दा पुरानो सडक स्तरोन्नतीको काम थालेको हो। स्थानीयका अनुसार यो सडक २०२१ सालमा निर्माण गरिएको हो।
तत्कालिन समयमा व्यापारिक केन्द्र रहेको सत्तीबाट कटासे बजारसम्म आवतजावतका लागि यही सडक प्रयोग हुन्थ्यो। ८३ वर्षका दिलु ढुंगानाले यो कुनै बेलाको प्रमुख सडक भएको बताए। ‘त्यो बेला अरु बाटाघाटा थिएनन्’ उनले भने, ‘यही बाटो भएर ओहोरदोहोर गर्थे।’ तर पछि लम्की–टीकापुर–खक्रौला सडक बनेपछि यो सडक ओझेलमा परेको स्थानीयको भनाई छ। ओझेलमा परेसँगै यो सडक अतिक्रमणका कारण साँघुरिदैँ गएको हो। सडक साँघुरो भएका कारण गतिलो ग्राभेल समेत हुन सकेको छैन। केही वर्षअघि रानी जमरा कुलरीया सिँचाई आयोजनाले ग्राभेल गरेको थियो। स्थानीयका अनुसार त्यो बाहेक अरु कसैले सडकको स्तरोन्नतीका लागि पहल गरेनन्।
२०७७ मा सडक स्तरोन्नती भन्दै नगरपालिकाले १५ लाख विनियोजन गरेको थियो। तत्कालिन वडाध्यक्ष प्रकाशबहादुर बुढाथोकीले बजेट सदुपयोग गर्न सकेनन्। उनले सडकमा विवाद देखिएको भन्दै काम अघि बढाउन सकेनन्।
हालका वडाध्यक्ष दीपक चौधरीले यही सडकको स्तरोन्नतीलाई चुनावी मुद्दा बनाए। उनले चुनावी मुद्दालाई कार्यान्वयन गर्न सुरु गरेका छन्। उनका अनुसार यो वर्ष कोठापुरदेखी बन्दीपुर हुँदै सीतापुरसम्म करिव ५ किलोमिटर सडक स्तरोन्नतीको काम हुनेछ। उनले आगामी वर्ष सीतापुरबाट विजयनगर शिविरसम्म सडक स्तरोन्नती गरिने जानकारी दिए। ‘यो सडक मेरो प्राथमिकताको विषय हो’ उनले भने, ‘म जसरी पनि सडक बनाएरै छोड्छु।’
सडक स्तरोन्नतीमा समस्या छ। स्थानीयले सडक च्यापेका छन्। कुनैकुनै ठाउँमा सडकको चौडाई १५ फिट मात्रै छ। जसलाई ३० फिट बनाईदैँछ। वडाध्यक्ष चौधरीले प्राविधिकको सहयोगमा सडकको रेखांकन गरेका छन्। सडक ३० फिट बनाउने कुरामा स्थानीय सहमत भएका छन्। केही व्यक्तिहरुले विरोध गरेपनि अधिकांशले वडाध्यक्ष चौधरीको काममा समर्थन जनाएका छन्। ‘केही व्यक्तिले असफल बनाउने प्रयास गरेका थिए’ चौधरीले भने, ‘अधिकांश स्थानीय समर्थनमा छन्।’
सडक स्तरोन्नतीका क्रममा केही ठाउँमा स्थानीयका घर भत्काउनु पर्ने अवस्था आएको छ। वडाध्यक्ष चौधरीले स्थानीय बासिन्दा घर भत्काउन समेत तयार रहेको बताए। स्थानीय राजेश चौधरीले वडाध्यक्षको काममा समर्थन रहेको बताए। उनले सडक स्तरोन्नतीको काममा आफूहरुले सहयोगीको भूमिका खेलेको बताए। ‘राम्रो काम भैरहेको छ। हामी सबै खुशी छौं’ उनले भने–‘राम्रो काममा सबैको सहयोग हुनुपर्छ।’
यही सडकलाई नगरपालिकाले ‘रिङरोड’ अन्र्तगत राखेको छ। जसका कारण पनि सडकको स्तरोन्नती आवश्यक भएको वडाध्यक्ष चौधरी बताए। उनले कार्यकाल भित्र नगरपालिका भन्दा बाहिरको बजेट खोजेर भएपनि सडक कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।
प्रकाशित: २२ कार्तिक २०७९ ०७:२५ मंगलबार





