५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

चोभार सबस्टेसन निर्माणको अवरोध हट्यो

फाइल तस्बिर।

कीर्तिपुर नगरपालिका-६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ।

नेपाल विद्युत् प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गर्दै आएका थिए। उक्त स्थान खेल मैदानको रूपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका थिए।

मन्त्रिपरिषद्को १७ माघ २०७८ को बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो। प्राधिकरणले सर्वे, माटो परीक्षण, डिजाइन जस्ता निर्माणपूर्वका प्रारम्भिक कार्य सकिएको र सरकारले जग्गा उपभोग गर्न दिइसकेको अवस्थामा त्यस स्थानको विकल्पमा अन्य ठाउँमा सबस्टेसन सार्न नसकिने प्रष्ट पार्दै आएको थियो।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी, उपप्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खिरमानसिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ।

प्राधिकरणले स्थानीयले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ। कीर्तिपुर नगरपालिका, स्थानीय क्लब, संघसंस्था र भद्रभलादमीसँगको छलफल र सहमतिमा मागलाई सम्बोधन गरिनेछ।

चोभारस्थित सुक्खा बन्दरगाहको प्रवेशद्वारबाट सुरु भएको करिब २ किलोमिटर ११ केभी लाइन तथा पोल सुरक्षित नदेखिएकाले स्थानीयको मागबमोजिम लाइनलाई भूमिगत गरी प्राधिकरणले व्यवस्थापन गरिदिने सहमति भएको छ।

प्राधिकरणले सबस्टेसन निर्माण तत्काल अगाडि बढाउनेछ। विद्युत् आपूर्तिको आवश्यकतालाई ध्यानमा राखी सबस्टेसन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको छ।

बैठकमा नगरप्रमुख नकर्मीले विकास निर्माणका काममा नगरपालिकाको सधैं सहयोग गर्ने बताए। उनले भने,‘सबस्टेसन निर्माणमा जारी अवरोध हटाउनु ज्यादै अप्ठ्यारो र जटिलता थियो, यसलाई समाधान गर्न सफल भएका छौं, सबस्टेसन निर्माण तत्काल अगाडि बढाएर तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ।’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणका लागि ठेक्कापट्टा लागिसकेकाले चाँडै निर्माण सुरु गर्ने बताए। काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धि र लामाटार क्षेत्रका स्थानीयले अवरोध गरिरहेका छन्।  

प्रकाशित: २१ कार्तिक २०७९ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App