१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकाशिएको छ।

सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते मंगलबार कर्णाली राजमार्ग खुलेको छ। राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन्। सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले आवश्यक उपभोग्य समानको आयात सहज बन्न सकेको छैन।

अवरुद्ध राजमार्गलाई देखाएर मनोमानी तरिकाले बढाइएको उपभोग्य वस्तुको मूल्य व्यापारीले कायमै राख्दा उपभोक्ता मर्कामा परेका छन्। उपभोक्ता चामल, दाल, तेल, चिनी, मैदालगायत वस्तु महँगोमा मूल्य किन्न बाध्य छन्।

सडक अवरुद्ध हुनुअघि प्रतिकिलो ७० रुपैयाँ पर्ने मैदा यतिबेला प्रतिकिलो १६० रुपैयाँ मा बिक्री हुँदैछ। सेल रोटी हाल्नका लागि तिहारको मुखमा प्रतिकिलो १६० रुपैयाँ हालेर पनि मैदा किन्न नपाइएको जुम्लाको चन्दननाथ नगरपालिका–७ की सम्झना महतले जानकारी दिए। 

'खाना पकाउने ग्यासको मूल्य तीन हजार रुपैयाँ पुगेको छ भने खाने तेल प्रतिपोका १६० रुपैयाँ पुर्‍याइएको छ', उनले भने, 'बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन्। पहिले ५० रुपैयाँ पर्ने माला अहिले २०० रुपैयाँ पर्छ।' मूल्य तेब्बरले बढेको उनले बताए।

हिजोका दिनमा खसीको मासु विस्थापित गरेको ब्रोइलर कुखुरा हिमाली जिल्लामा पाउन छोडेको छ। खसीको मूल्य आकाशिँदो छ। ब्रोइलर कुखुराको मासु पाइँदासम्म प्रतिकिलो एक हजार रुपैयाँसम्म पर्ने खसीको मासु सडक अवरुद्ध भएसँगै अहिले एक हजार ३०० रुपैयाँसम्म पुगेको उपभोक्ता जयशङ्कर धितालले बनाए।

उनले भने, 'बजारमा सामान अभाव भएर व्यापारी होइन, उपभोक्तालाई ठूलो मर्का परेको छ। व्यापारीले विपद्का कारण अवरुद्ध कर्णाली राजमार्गलाई माध्यम बनाएर रातारात कमाउने अवसर लिइरहेका छन्। बजारमा कृत्रिम अभाव देखाएर कालाबजारी गर्ने व्यापारीलाई स्थानीय प्रशासनले कारबाही गर्नुपर्दछ।'

सवारी साधनमा प्रयोग हुने डिजेल र पेट्रोल अभाव भएको भन्दै गाडी सञ्चालकले २०–२५ प्रतिशत भाडा बढाएका छन्। प्रतिकिलो ५० रुपैयाँ पर्ने तरकारी बढेर १०० रुपैयाँ पुगेको छ। मसलाजन्य सबै वस्तुको मूल्य पनि दोब्बरले बढेको उपभोक्ताले बताएका छन्। यो समस्या कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्लालगायत जिल्लामा बढी छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले कर्णाली राजमार्ग खुलिसकेकाले अब बजार पहिलेकै अवस्थामा आउने जानकारी दिए। उनका अनुसार भर्खरै गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको बताए। रासस

प्रकाशित: ९ कार्तिक २०७९ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App