७ वैशाख २०८१ शुक्रबार
अर्थ

ग्राउण्ड ह्याण्डलिङमा नेवानिको विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका छन्।

बुधबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका हुन्।

उनले वायुसेवा निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुनसक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्नेपनि बताए। महानिर्देशक अधिकारीले कुनैपनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउण्ड ह्याण्डलिङ सेवा दिनसक्ने कानूनी व्यवस्था रहेको उल्लेख गरे।

उनले वायुुसेवा निगमका कर्मचारीले नै आन्दोलन वा हड्ताल गरे सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने बताए। उनले अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक देखिएको उल्लेख गरे। अधिकारीले कानूनले दिएको अधिकार सम्मान रुपमा प्रयोग गरी कार्यान्वयन र विकल्प प्रश्तुत गर्न प्राधिकरण सचेत रहेको बताए।

उनले प्राधिकरण ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्थासहितको हवाई उडान गर्नेकुरा चाँडै निर्णय गर्ने बताए। उनले यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा अनुमति दिँदा निजी एयरलाइन्सलाई दिएको भनेर मिडियाको प्रेसरबाट प्राधिकरण निजी वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिने विषयमा पछाडि हटेको बताए।

अधिकारीले हप्तामा ३५ वटा हवाई उडान गर्ने कम्पनीले ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छु भन्दा कानूनी रुपमा प्राधिकरणले अनुमति दिनुपर्ने बताए। उनले हवाई उडान कम्पनीले व्यापार गर्नको लागि उडानमा बढी प्राथमिकता दिनुपर्ने बताए।

अधिकारीको भनाइअनुसार प्राधिकरण निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको जिम्मा दिने तयारी रहेको देखिन्छ। अहिलेसम्म नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। निगमले शुरुदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ।

प्रकाशित: ४ कार्तिक २०७९ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App