१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नरैनापुर खाद्य संकटको जोखिममा

समयमै वर्षा नहुँदा बाँझै रहेको नरैनापुरको खेतीयोग्य जमिन।

नरैनापुर–४ का असफाख खानले गत वर्ष २२ बिगाहमा लगाएका धान बेमौसमी वर्षाले सखाप पार्‍यो। समयमै वर्षा नहुँदा यस वर्ष उनले दुई बिगाहमा मात्र धान रोपाइँ गरे। तर, यसवर्ष पनि वर्षाले धान भित्र्याउनै पाएनन्। धान खेतमै क्षति पुर्‍यायो।

लगातार दुई वर्ष उनले उत्पादन गर्न सकेनन्। उनी जस्तै यहाँ जलिल मनिहारको खेत पनि बाँझै बन्यो। बोरिङको पानीले थोरै रोपाइँ गरेका थिए तर, भित्र्याउन पाएनन्। उनको प्रमुख आर्थिक स्रोत नै खेती हो। दुई वर्ष उत्पादन नहुँदा खाद्य संकटको सामना गर्नुपर्ने बाध्यता उनलाई आइ परेको छ। यति मात्र होइन, सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुरमा खाद्य संकट सिर्जना हुने अवस्थामा पुगेको छ। बाँकेको दुर्गम भनिने नरैनापुरमा ८५ प्रतिशत खेतीयोग्य जमिन बाँझै छ।

समयमै वर्षा नहुँदा यहाँका किसानले धान रोपाइँ नै गर्न पाएनन्। यहाँ चार हजार नौ सय ६६ हेक्टर जमिन खेतीयोग्य छ। गत वर्ष धान भित्र्याउन नपाउनु, यस वर्ष रोपाइँ नहुनु र भएको बाली वर्षाले असर पुर्‍याउँदा नरैनापुर खाद्य संकटको जोखिममा परेको छ। पालिका खाद्य संकटको जोखिममा परेको नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए।

‘खेतीयोग्य जमिनमध्ये करिब १५ प्रतिशत जमिनमा मात्र रोपाइँ भयो,’ उनले भने, ‘बाँकी जमिन बाँझै छ। वडा नम्बर ५ र ६ मा केही रोपाइँ भएको थियो। यसवर्ष पनि यहाँको धानमा क्षति पुग्यो।’ यहाँको प्रमुख बालीनै उत्पादन नभएपछि पालिका खाद्य संकटको जोखिममा परेको कृषि, सहकारी तथा लघु उद्यम विकास शाखाका प्रमुख सदन भण्डारीले जनाए।

‘बाली भित्र्याउँदा वर्षा भएर डुबान हुन्छ,’ उनले भने, ‘लगाउँदा सुख्खा हुन्छ।’ जलवायु परिवर्तनको असर नरैनापुरले खेप्नु परेको भन्दै उनले भने, ‘यहाँको प्रमुख बाली उत्पादन नहुँदा स्थानीयलाई दैनिक गुजारा गर्न समस्या भएको छ।’ लगातार दुई वर्ष उत्पादन नहुँदा खाद्य संकट झेल्नु परेको स्थानीयको भनाइ छ। ‘गत वर्ष भित्र्याउन लागेको धानबाली वर्षाले क्षति पुर्‍यायो,’ जलिलले भने, ‘गत वर्षभन्दा पहिलाको धान बिक्री गरियो। यसवर्ष पनि उत्पादन नै भएन।’

यसवर्ष घरमा खाद्यान्न मौज्दात नभएको उनी बताउँछन्। इसराफिल खान बर्सेनि करिब ६० क्विन्टल धान उत्पादन गथ्र्ये। त्यसमध्ये केही परिवारका लागि राख्थ्ये भने अरु सबै बिक्री गथ्र्ये। तर, यसवर्ष उनको घरमा धान अगन्य मात्रामा छ। अर्थात् वर्षभरि खान पुग्ने धान छैन।

‘वर्षभरि खाने धान हुन्थ्यो। यसवर्ष त भएको धानले वर्ष दिन धान्दैन,’ उनले भने, ‘खाद्य संकटको संकेत देखिन थालेको छ। यसबारे सरकारले समयमै ध्यान दिन जरुरी छ।’ ‘पैसा हुने केही दुरीमा रहेको नेपालगन्ज तथा भारतीय बजारमा चामल तथा खाद्यान्न ल्याउन सक्लान्,’ असफाखले भने, ‘नहुने मान्छेले कसरी ल्याउँला।’ ‘कतिपय व्यक्तिको उत्पादनले खान मात्र पुग्छ, कसैको पुग्दैन,’ उनी भन्छन्, ‘त्यस्ता व्यक्तिलाई खाद्य संकटको बढी प्रभाव पर्न सक्छ।

प्रकाशित: १ कार्तिक २०७९ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App