१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालगन्जको बजारमा वेथिति नै वेथिति

बाँकेमा दशैं तिहारमा हुनसक्ने अवाञ्छित व्यापारिक गतिविधिलाई ध्यानमा राखेर अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी कार्यालय, नेपालगन्ज उपमहानगरपालिका एवम् उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारहरुसहितको टोलीले गरेको अनुगमनमा बजारमा अखाद्य वस्तु भेटिनुका साथै अवैधरुपले व्यापारसमेत गरिरहेको फेला परेको छ।

त्यस्ता वस्तु बेच्ने तथा कानुन विपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्‍याउन निर्देशन पनि दिइएको छ। अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ।

मार्टहरुमै म्याद नाघेका र अनुमति नलिएका वस्तुहरु बेचिरहेको फेला परेको छ भने म्याद नाघेका वस्तुहरु राख्न ‘एक्पायर जोन’को व्यवस्था नगरिएको पाइएको छ। नेपालगन्जस्थित राही मार्टमा आठ सय ८० रुपैयाँ बराबरको उपभोग्य मिति समाप्त भएका चाउचाउ बरामद गरिएको छ। यसैगरी मासु पसलहरु मापदण्डअनुसार सञ्चालन नगरिएको र मासु ढुवानीको मापदण्डविपरीत प्याकिङ गर्ने गरिएको फेला परेको छ।

संघका अध्यक्षकै पसलमा अखाद्य वस्तु

बजार अनुगमन टोलीले नेपालगन्ज वडा नम्बर २ धम्बोझी नजिकैको ब्राइट किराना पसलमा पुग्यो। उक्त पसलका सञ्चालक खुद्रा तथा किराना व्यवसायी संघका अध्यक्ष गुणाकर भण्डारीकी श्रीमती रहिछन्। भण्डारी बेलाबखत बजार अनुगमन टोलीमा सहभागी हुने र अरु व्यापारीलाई म्याद गुज्रेका सामानहरु नबेच्न निर्देशन दिने गरेका रहेछन्।

अनुगमन टोलीले उनकै पसलमा म्याद गुज्रेका र मिति सच्याइएका सामानहरु फेला पार्‍यो। त्यसपछि उनको पसलबाट चार हजार ६ सय १२ रुपैयाँ बराबरका अखाद्य वस्तु बरामद गरी नष्ट मात्रै गरिएन उपभोक्ता संरक्षण ऐनअनुसार तत्काल ५० हजार रुपैयाँ जरिवाना पनि गरियो।

कार्टुनमा मासु हालेर हिमाली जिल्लामा

अनुगमनका टोलीले राँझा क्षेत्रका मासु पसलहरुको अनुगमन गर्‍यो। त्यसक्रममा स्थानीय सिद्धबाबा पोल्टी एण्ड फिड सप्लायर्समा रक्सीको कार्टुनमा मासु प्याक गरेर हुम्ला पठाउन तयार पारिएको अवस्थामा फेला पर्‍यो। उक्त मासु डल्फिन ग्रुपको भेरी मिट शप एण्ड कोल्ड स्टोरबाट किनिएको पसल सञ्चालिकाले बताइन्।

जबकि उक्त मासु भेरी मिट शपबाट असोज ५ गते नै किनिएको फेला भेरी मिट शपमा पुगेपछि पुष्टि भयो। आठ दिनअघि किनिएको मासु नेपालगन्जमा नबिकेपछि पसल सञ्चालिकाले हुम्ला पठाउन लागेको खुल्न आयो। उनले आफूलाई तारा एयरले मासु लगिदिने बताएको खुलाइन्।

जबकी मासु ढुवानी गर्दा भेटेरीनरी जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने, थर्माकोलको कार्टुनमा आइस राखेर प्याक गर्नुपर्ने मापदण्ड छ। उक्त पसल नवीकरण पनि नभएको पाइएपछि अनुगमन टोलीले मापदण्ड पूरा नगरेसम्म र नवीकरण नगराएसम्म कारोबार रोक्का राख्ने निर्णय गर्‍यो। नवीकरण नभएको पसललाई मासु बिक्री गर्ने भेरी मिट शप एण्ड कोल्ड स्टोरलाई पनि सचेत गराइएको छ।

सिद्धबाबाकै छेउमा रहेको न्यू भेरी मिट एण्ड दाना सप्लायर्सले पनि नवीकरण नगरेको पाइएपछि उक्त पसललाई पनि प्रक्रिया पूरा नगरुन्जेलसम्मका लागि बन्द गराइएको छ। अनुगमन टोलीले हवाइजहाजमार्फत मासु ढवानी गर्दा मापदण्ड कडाइपूर्वक पालना गर्न लगाउन एयरलाइन्स कम्पनी र विमानस्थल सुरक्षा अधिकारीहरुलाई सचेत पनि गराएको छ।

प्रकाशित: १४ आश्विन २०७९ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App