८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटन व्यवसायीको गुनासोः बढेको ब्याजदर धान्न सक्दैनौ, हात उठाउन मात्र बाँकी छ

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको बारे नेपाल राष्ट्रबैंक पोखरामा ज्ञापनपत्र बुझाउँदै पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ। तस्बिरः सन्तोष पोखरेल/नागरिक

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयले पर्यटन क्षेत्र समस्यामा परेको भन्दै पर्यटन व्यवसायीले उक्त निर्णय लागु नगर्न अनुरोध गरेका छन्। पर्यटन क्षेत्र कोरोना संक्रमण अघिको अवस्थामा फर्किन नसकेको भन्दै व्यवसायीले कर्जाको सावा र ब्याज समेत तिर्न सक्ने अवस्था समेत नरहेको बताएका छन्।  

राष्ट्रबैंकको पोखरास्थित कार्यालयका निर्देशक डा. रामशरण खरेलसमक्ष आइतबार ज्ञापनपत्र बुुझाउँदै व्यवसायीले यस्तै अवस्था आए व्यवसायी पलायन हुने चिन्ता जनाए। पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले राष्ट्रबैंक समक्ष ज्ञापनपत्र बुझाउँदै किस्ता तिर्ने समय अवधि बढाईदिन, बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर फिर्ता गर्न व्यवसायीले अनुरोध गरेका छन्। बढेको ब्याजदर  एकल अंकमा झारिदिन उनीहरुको अनुरोध थियो।  

परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले कर्जाको ब्याजदर एकल अंकमा झारिदिन आग्रह गरे। कोरोनाको पहिलो लहर पछि प्रवाह गरेको अतिरिक्त कर्जा (बढिमा १० प्रतिशत) को हिसाब मिलान गर्न बैंकले ताकेता गरेको पनि व्यवसायीको भनाई छ। ‘पर्यटन क्षेत्र भूकम्प देखि नै कुनै न कुनै रुपमा मारमा पर्न थालेको हो। सबैतिरको अप्ठेरो सकिनै थालेको बेला फेरि कोरोना संक्रमण सुरु भयो, यसले झनै मारमा पारेको छ,’ श्रेष्ठले भने, ‘कोरोनाले दुईवर्ष पुरै अस्तव्यस्त बनाएको छ। त्यही भएर अहिले ऋणको ब्याज र किस्ता तिर्ने सामथ्र्य पर्यटन व्यवसायीमा छैन।’ कर्जाको भूक्तानि तालिकालाई पूर्नतालिकिकरण गरिदिनु पर्ने उनले बताए।  

‘बाहिरबाट हेर्दा पर्यटन क्षेत्र चलायमान छ। तर, पर्यटक छैनन। व्यवसाय खुला पनि छ, तर, हामीले कमाउन सकेका छैनौ,’ उनले भने, ‘यहीबेला कर्जाको ब्याजदर बढाएर वित्तीय संस्थाले झनै ठुलो भार थपिदिन थालेका छन्। यस्तै अवस्था रहे पर्यटन व्यवसायीले हात उठाउनेछन।’ ८–९ प्रतिशतका दरले लिएको कर्जाको ब्याज अहिले १४ प्रतिशत हाराहारीमा पुग्दा पर्यटन क्षेत्र झनै मारमा परेको उनले बताए।  

‘हामी बाहिर मात्र हासेका हौ, भित्रभित्र निकै नै पीडामा छौ। अबको विकल्प भनेको हात ठड्याउन मात्र बाँकी हो,’ उनले भने, ‘कर्जाको ब्याजर पनि एकल अंकमा ल्याउनुको विकल्प छैन।’ उनले अहिले किस्ता तिर्न नसकेपनि पछि तिर्ने बताए। ‘हामीले ऋण लिएपछि तिर्दैनौ भनेका छैनौ। बचेको घरखेत बेचेर भएपनि ऋण तिर्छाै, तर, अहिलेका लागि अप्ठेरो अवस्था आएको हो मात्र भनेका छौ,’ श्रेष्ठले भने, ‘त्यसका लागि समय थपदिनुपर्छ भन्ने मात्र हाम्रो माग हो।’

पर्यटन व्यवसायी हरि भूजेलले बचतमा १५–१६ प्रतिशतसम्म ब्याज वित्तीय संस्थाले दिन थालेपछि त्यसको भार कर्जामा पनि पक्का रहेको बताए कोरोनाका संकटको बेलामा पनि राजधानी केन्द्रित व्यवसायीले मात्र धेरै लाभ पाएको तर, बाहिरका व्यवसायी मारमा परेको उनले बताए। ‘व्यवसायी पलायन हुने क्रम बढिरहेको छ। यस्तै अवस्था रह्यो भने अझ बढी व्यवसायी बिस्थापित हुनेछन,’ उनले भने।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का गण्डकी अध्यक्ष हरिराम अधिकारीले कर्जाको ब्याज नियमित भुक्तानि हुँदाहुँदै पनि अहिले सावा तिर्न बाध्य पारिएको गुनासो सुनाए। वित्तीय संस्थाले दिनहुँ फोन गरेर सावा तिर्न दवाव दिएको उनले बताए। ‘बाहिरबाट हेर्दा पर्यटन व्यवसाय निकै नै चलायमान देखिएको छ, तर, व्यवसाय छैन,’ अधिकारीले भने, ‘व्यवसाय गर्न पाएका छौ, तर व्यवसाय भएको छैन,’ उनले भने, ‘हामी खुलेका पनि छौ, तर, कमाई छैन। यो अवस्थामा ब्याजदर बढाउँदा झनै मार पर्ने निश्चित छ।’

व्यवसायीको गुनासो सुनेपछि राष्ट्रबैंक पोखराका निर्देशक डा रामशरण खरेलले वित्तीय संस्थाको ब्याजदर बढेको गुनासो अहिले दिनहुँ आइरहेको बता। यो समस्या समाधान हुन अझै केही समय लाग्ने उनको भनाई छ। ‘आर्थिक स्थितिमा असर परेर यो अवस्था आएको हो। अर्थतन्त्र सुधार हुन अझै केही महिना लाग्ने देखिएको छ,’ खरेलले भने, ‘अर्थतन्त्रमा सुधार हुनासाथ यसमा पनि सहज हुन्छ। भुक्तानि सन्तुलनका कारण अर्थतन्त्रमा अप्ठेरो परेको हो। उनले पनि कोरोना संक्रमण कमजोर भएपनि पर्यटन क्षेत्र अझै माथि उठ्न नसकेको बताए।  

‘अर्थतन्त्र सुधार हुन अझै २÷३ महिना लाग्न सक्छ। विश्वको आर्थिक व्यवस्थापमा कुनै समस्या नआएमा नेपालको अर्थतन्त्र पनि सुधार हुनेछ,’ उनले भने। उनले रेमिट्यान्स र पर्यटन क्षेत्रमा सुधार हुने हो भने यो समस्या सधैंका लागि समाधान हुने बताए। ‘अहिलेका लागि केही सहुलियत दिने कुरा भिन्दै हो। नत्र दीर्घकालिन रुपमा समस्या समाधान हुनका लागि पर्यटक भित्रिनै पर्छ,’ उनले भने।  

प्रकाशित: ९ आश्विन २०७९ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App