१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य नाका तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापनको कार्य पहिलो पटक निजी क्षेत्रमार्फत हुने भएको छ।

यसको लागि निजी क्षेत्रको टर्मिनल मेनेजमेन्ट कम्पनीसमेत छनोट भइसकेको छ। आगामी पाँच वर्षको लागि यो सुख्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडलाई दिइएको इन्टर मोडेल यातायात विकास समितिले जनाएको छ।

समिति र ट्रान्स सिल्कबीच गत भदौ २९ गते बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार ट्रान्स सिल्कले औपचारिक रुपमा सोमबारबाट बन्दगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। ‘तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय व्यवस्थापन तथा सञ्चालनको जिम्मा पहिलो पटक निजी क्षेत्रलाई दिइएको हो,’ उनले नागरिकसँग भने।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको अत्याधुनिक तातोपानी सुख्खा बन्दरगाह भन्सार २०७६ असार ३ गते समितिलाई हस्तान्तरण भएको थियो। हस्तान्तरणको ६ महिनासम्म कार्यालय सञ्चालनको काम समितिले नै गरेको थियो। २०७६ पुस १६ गतेदेखि बन्दरगाह सञ्चालन तथा व्यवस्थापको कार्य सरकार स्वामित्वको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्दै आएको थियो।

यो बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन कार्य निजी क्षेत्रलाई दिन समितिले गएको जेठ ११ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। जसमा फ्लास फ्रेट लजिस्टिक, भ्याली टर्मिनल जेभी काठमाडौँ र ट्रान्स नेपाल जेभी विराटनगरले आवेदन होलेका थिए। प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबैभन्दा बढी अंक प्राप्त ट्रान्स नेपाल जेभी विराटनगर छनोट भएको समितिका कार्यकारी दिर्नेशक गजुरेलले जनाए।

उनका अनुसार ट्रान्स सिल्क टर्मिनल विराटनगरको कम्पनी हो। ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गरेवापत समितिलाई पाँच वर्षको ११ करोड ७० लाख रुपैयाँ बुझाउने छ। बन्दरगाह सञ्चालन, सरसफाई, गोदाम व्यवस्थापन, लोड/अनलोड, पार्किङ व्यवस्थापन लगायत काम अब ट्रान्स सिल्कले गर्ने छ। निजी क्षेत्रलाई जिम्मेवारी दिएसँगै तातोपानी सुख्खा बन्दरगाह भन्सार व्यवस्थित ढंगले सञ्चालन हुने समितिको दाबी छ।

कार्यकारी निर्देशक गजुरेलले निजी क्षेत्रको विज्ञता प्रयोग गरी सुख्खा बन्दरगाह/एकीकृत जाँच चौकीको सञ्चालन तथा व्यवस्थापन सार्वजनिक–निजी क्षेत्रको सहकार्यमा हुने गरेको बताए। ‘यससँगै तातोपानी बन्दरगाहमार्फत् हुने व्यापार चुस्त, छिटोछरितो र किफायती हुने विश्वास समितिले लिएको छ,’ उनले भने।

प्रकाशित: ७ आश्विन २०७९ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App