काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भूमिकामा सहजिकरण गर्न तयार रहेको बताएकी छन्।
बिहीबार काठमाडौँमा ग्रिल तथा स्टिल व्यवसायी संघले बागमती अधिकार सम्पन्न सभ्यता एकीकृत समितिलाई सरसफाई औजार तथा बिरुवा सुरक्षा जाली हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले व्यवसायीहरुलाई व्यवसायी दर्तामा समेत सहजिकरण गर्ने र करको दायरा बढाउने काममा सहजिकरण गर्ने बताएकी हुन्।
उनले अहिले काठमाडौँ महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेको भन्दै करको दायराको विषय उपप्रमुखको अधिकार पनि भएकाले विशेष ध्यान दिने प्रतिबद्धता जनाइन्। उपप्रमुख डंगोलले महानगरमा व्यवसाय दर्ता गर्दा तथा करको विषयमा विभिन्न असहजता रहेको विषयमा व्यवसायी र महानगर बसेर छलफल गर्ने बताइन्।
उपप्रमुख डंगोलले व्यवसाय दर्ता गर्दा व्यवसायीहरुलाई असहज नहुने र महानगरमा पनि रेकर्ड रहने र करको दायरा बढाउने गरी काम गर्न प्रतिबद्ध रहेको बताइन्। संघले समितिलाई बिरुवाको सुरक्षाको लागि आवश्यक पर्ने तारजाली करिब ७ लाख ४४ हजार ५ सय बराबरको सामग्री हस्तान्तरण गरेको छ।
प्रकाशित: ३० भाद्र २०७९ १४:०५ बिहीबार