१७ मंसिर २०७९ शनिबार
अर्थ

पर्यटनमा कोरोना मारः फर्केनन् अनुभवि कामदार

अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका पर्यटक र मजदूर।

कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र सुरुमै थलियो। पर्यटनमा भविश्य अनिश्चित हुँदै गएको भन्दै त्यहाँ कार्यरत मजदूरले विकल्प खोज्न थाले। नियमित गरिरहेको काममा पूर्णविराम लागेपछि मजदूर तितरवितर भए। उत्तिबेला पर्यटन क्षेत्र छाडेका कतिपय मजदूर अझै पनि पूरानै पेशामा फर्केका छैनन्।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अहिले पोखरा वरपरको पर्यटन क्षेत्रका लागि कम्तिमा १० हजार मजदूर आवश्यक छन्। अहिले पर्यटन क्षेत्रमा करिब ५ हजार मात्र जनशक्ति कार्यरत रहेको उनले बताए। सबैगरी १५ हजार जनशक्ति चाहिनेमा एक तिहाई मात्र कार्यरत रहेको उनले बताए।

‘पोखराको पर्यटन क्षेत्रमा मात्र करिब १० हजार जनशक्ति आवश्यक छ। कोरोना अघि यहाँ १५ हजार हाराहारीमा जनशक्ति कार्यरत थियो, तर, कोरोनाले गर्दा विस्थापित भएका उनीहरु फर्केनन्,’ उनले भने, ‘कोरोनाले लामो समय आर्थिक रुपमा धराशायी त बनायो नै मजदूर अभाव पनि सिर्जना गरेको छ। यो अभाव लामो समयसम्म रहनेछ।’ अहिले पाहुना आगमन कमजोर हुँदा थोरै जनशक्तिको भरमा पनि चलेको पर्यटन क्षेत्रले भविश्यमा जनशक्ति अभावको अर्को समस्या खेप्नुपर्ने उनले बताए।

‘जब कोरोनाको मार सुरु भयो, लगत्तै पर्यटन क्षेत्र सुनसान बन्यो, पर्यटन क्षेत्रमा कार्यरत जनशक्ति धमाधम विस्थापित भयो,’ उनले भने, ‘कोरोना कमजोर भएपनि विस्थापित भइसकेका ती मजदूर पुरानै पेशामा फर्केनन। किनकी पर्यटन क्षेत्रको भविश्य नै उनीहरुले अन्योलयुक्त देखे।’

 ठूला होटलले केही समय थोरै पैसा दिएर जनशक्तिलाई टिकाउने प्रयास गरेपनि साना होटलले पुरै जनशक्ति गुमाएको उनले बताए। अहिले कार्यरत जनशक्ति पनि भरपर्दो नरहेको उनको भनाइ छ। ‘कुनैपनि बेला काम छाड्ने खालको जनशक्ति अहिले पर्यटन क्षेत्रमा  छ। उनीहरु पासपोर्ट बनाएर तयारी अवस्थामा छन्। कुनैपनि बेला उड्ने तयारीमा छन,’ सुवेदीले भने।

आगामी सिजनमा पर्यटनमा सुधार भएमा पाहुनाको सेवामा खटिने मजदूर अभाव खड्किने उनले बताए। ‘कामचलाउको भरमा अहिले टिकेको हो। पाहुनाको भीडभाड भए कामचलाउ रुपमा जनशक्ति माग्ने गरिएको छ। जनशक्ति उत्पादन गरिरहेका निकायलाई गुहारेको भरमा यहाँको पर्यटन थामिएको हो, भित्र निकै नै सकस छ,’ उनले भने।

पर्यटन क्षेत्रमा लामो समय कार्यरत मजदूरहरुमध्ये केही वैदेशिक रोजगारीमा गएको, कतिपयले फरक पेशा व्यवसाय अंगालेको सुवेदीको भनाइ छ। ‘पर्यटन क्षेत्रमा भविष्य निश्चित भएन। कुन बेला अप्ठेरो आउने भन्ने रहेन। व्यवसायीले पूर्ण रुपमा कर्मचारी पाल्न सक्ने अवस्था पनि देखिएन,’ उनले भने, ‘त्यसले गर्दा विस्थापित भएका हुन्। काममा फर्काउन सकिएन।’

पर्यटन क्षेत्रका लागि अहिले तालिम प्रदायक संस्थाले प्रशिक्षण दिएर जनशक्ति तयार पारेपनि नयाँ जनशक्तिसँग पर्याप्त अनुभव नहुनु समस्या रहेको उनले बताए। ‘प्रशिक्षण लिएर काममा आएको जनशक्तिमा पनि नेपालमै बस्ने योजना छैन। अवसर पाए वैदेशिक रोजगारीमा गइहाल्ने उनीहरुको तयारी छ। नेपालमै अडिने मानसिकता नभएपछि त्यो अनुसार काम पाउन नसकिने रहेछ,’ उनले भने।

अहिले एक्ज्यूकेटिभ भन्दा माथिका सबै तहका कर्मचारी पर्यटन क्षेत्रमा अभाव रहेको उनले सुनाए। होटल तथा रेस्टुरेन्टमा समेत म्यानेजर अभाव रहेको उनले बताए। त्यसबाहेक हउसकिपर, वेटर, किचन, डिसवासमा पनि उत्तिकै जनशक्ति अभाव छ।

‘कुकको अभाव उत्तिकै छ। यहाँ पकाउन जानेका कुक पछिल्लो समय जापान जान थालेका छन्। जापानमा राम्रो अवसर पाएको भन्दै उनीहरु जापान जाने गरेको उनले बताए। ‘नयाँ जनशक्तिमा काम गर्ने भन्ने सोचाइ नै छैन। अवसर पाए उडिहाल्ने योजना छ। तालिम लिएर जनशक्ति आउँछन्, तर, केही महिना काम सिकेर छाडि हाल्नछन्,’ सुवेदीले भने, ‘होटल तथा रेस्टुरेन्ट तालिम प्रदायक संस्था जस्ता बनेका छन्। केही महिना काम सिक्ने र छाड्ने थलो बनेका छन्।’

अरु व्यवसायी पनि होटल क्षेत्रमा कार्यरत ठूलो जनशक्ति कोरोनाका कारण विस्थापित भएको बताउँछन्। होटल ल्याण्डमार्कका सञ्चालक ओमप्रकाश पाण्डेका अनुसार कोरोनाबाट विस्थापित भएका मध्ये करिब १५ प्रतिशत मजदूर मात्र पहिलेको काममा फर्केका छन्।

यो दर चितवनमा भने केही बढी छ। चितवनमा भने करिब २५ प्रतिशत मजदूर पर्यटन क्षेत्रको पुरानै काममा फर्केको उनले बताए। तर, पोखरामा भने १५ प्रतिशत मात्र कामदार फर्केका छन्, अरुले अन्य पेशा रोजेको वा अरु मुलुकमा पुगिसकेका छन्।

‘राम्रो सुविधा दिन सक्ने हो भने अहिले पनि केही कामदार त पाइन्छन्। तर, पहिलेजस्तो सहज भने छैन,’ पाण्डेले भने, ‘राम्रो सेवा सुविधा दिन पर्यटन व्यवसायीलाई नै सकस छ। किनकी पर्यटन क्षेत्र अझै पनि पहिलेको अवस्थामा फर्केको छैन। व्यवसायले राम्रो कमाउन नसक्दा आर्थिक रुपमा भार भने अझै रहेको छ।’ पर्यटन क्षेत्रमा कार्यरत ठूलो जनशक्ति विदेश पलायन भएको पाण्डेले बताए।

‘मजदूरको पनि दैनिकी चल्नुपर्‍यो। कोरोनाले गरिखाएको पेशामा धक्का लागेपनि दैनिकी चलाउनकै लागि पनि अन्य पेशा व्यवसाय रोज्न बाध्य भएका हुन्,’ उनले भने, ‘पहिलेका मजदूरको अभाव आगामि दिनमा अझै पर्न सक्छ।’

नेपाली श्रम बजारको अवस्थाबारे गरिएको अध्ययनले पनि कोरोनापछि नेपालमा जनशक्ति अभाव रहेको देखाएको छ। इस्टाब्लिसिङ एन इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट (इएलएमएस) को अध्ययनले पनि कोरोनाले गर्द मजदूर अभाव रहेको प्रस्ट्याएको छ।

होटल संघ, उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसायी महासंघ, घरेलु तथा साना उद्योग महासंघ र नेपाल उद्योग परिसंघको साझेदारीमा इएलएमएसले सन् २०२० को नोभेम्बर ११ देखि नेपालका सातै प्रदेशमा काम गर्दै आएको छ। यूरोपियन युनियनको आर्थिक सहयोग तथा ब्रिटिस काउन्सिल–दक्षताः टीभीइटी प्राक्टिकल पार्टनरसिप प्रोजेक्टको प्राविधिक सहयोगमा यो कार्यक्रम सञ्चालित छ।

विशेष गरी उद्योग प्रतिष्ठानको आवश्यकता अनुसारको दक्ष जनशक्तिको मागबारे तथ्यांक तथा सूचना संकलन गरी सीप सम्बन्धी उपयुक्त नीति तथा कार्यक्रमको तर्जुमा गर्न सरकार र सम्बन्धित सरोकारवालालाई जानकारी सम्प्रेषण गर्ने उद्देश्य यो आयोजनाले लिएको छ।

आयोजना अन्तर्गत प्राथमिकताका आधारमा तीनवटा आर्थिक क्षेत्र– निर्माण, कृषि र पर्यटन समेटिएका थिए। उद्योग प्रतिष्ठानमा विभिन्न पेशामा के–कस्ता सीपयुक्त जनशक्तिको आवश्यकताबारे यसले अध्ययन गरेको छ। अध्ययन गरिएका तीनवटा क्षेत्रमा १०–१० वटाका दरले ३० वटा पेशासँग आवश्यक जनशक्तिको यसले अध्ययन गरेको थियो।  

सर्वेक्षण अन्तर्गत सातै प्रदेशका विभिन्न २७ जिल्लाका निर्माण, कृषि एवं पर्यटन क्षेत्रका दुई हजार नौसय ७३ उद्योग प्रतिष्ठानबाट दक्ष जनशक्तिको माग सम्बन्धि सूचना तथा जानकारी संकलन गरिएको होटल संघ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले जानकारी दिए।

‘जनशक्ति अभाव साह्रै छ। यो अध्ययनका क्रममा हामीलाई धेरैतिरबाट दक्ष जनशक्ति अभाव भयो भन्ने गुनासो आयो,’ महतले भने, ‘यो चिन्ताजनक कुरा हो। आगामि दिनमा यसको प्रभाव झनै बढी पर्नेछ।’

पोखरामा हालै भएको छलफलमा सहभागि होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले दक्ष जनशक्ति अभाव खड्किएको बताईन। उनले तालिम दिलाएर जनशक्ति उत्पादन भएपनि दक्ष नभएको बताइन।

‘जनशक्ति उत्पादनका लागि तालिम गराउँदा पैसा पनि खर्च भएको तर आवश्यक दक्ष कामदार बजारमा उपलब्ध छैन,’ राणाले भनिन्, ‘दक्ष जनशक्ति अभावले व्यवसायिक क्षेत्र पीडित बनेको छ। दक्ष जनशक्तिका लागि सार्वजनिक निजी साझेदारी प्रणालीमा अघि बढ्नुपर्ने अवस्था छ।’

प्रकाशित: २५ भाद्र २०७९ १६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App