५ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कर्णाली राजमार्गको मनपरी भाडा कहिलेसम्म?

यातायात व्यवसायीहरुले कर्णाली राजमार्गमा मनपरी भाडा असुल्ने गरेको महिनौ भईसकेको छ। कोरोना महामारीकै बीचमा सुरु भएको मनपरी भाडा दर नघट्दा यात्रु सारै मर्कामा परेका छन्। कोरोना सङ्क्रमणका बेला जोखिम भएको भन्दै डबल भाडा लिएर यात्रुलाई गन्तब्यमा पुगाएका व्यवसायीहरुले सोही भाडालाई अहिलेसम्म कायम राखेका छन्।

कैलालीको लम्कीबाट कालिकोट आएका कैलालीका मिलन सिम्सेलीले दुई हजार भाडा तिर्नुपरेको बताए। उनले भने ‘पुरानो भाडा कैलालीको लम्कीबाट कालिकोटको जिते बजारसम्मको एक हजार एक सय भएपनि एक हजारमा टिकेट मिल्ने गरेको थियो। तर अहिले दुई हजार हातमा नथमाउदासम्म काउण्टरवालाले सिट छैन भन्दै टिकेट काट्न मान्दैनन्। जब दुई हजार उनीहरुको हातमा थमाईन्छ अनि टिकेट हातमा दिने गरेका छन्। कर्णाली रार्जमार्गमा मनपरी कहिलेसम्म?’  

कालिकोट सदरमुकाम मान्मबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतका लागि नौ सय भाडा थियो। सानो दश सिटे जिपमा नौ सय,फोर्समा आठ सय र ठूलो बसमा पाँच सय ५० रुपैयाँ भाडा कोरोना अगाडि थियो। तर कोरोनाका बेला दुई हजार पाँच सयसम्म असुल्ने गरेका थिए। यातायात सहज हुदा अहिले बस वाहेक अरु सबैले एक हजार ८ सय देखि एक हजार पाँच सयसम्म लिने गरेका छन। दुरीका हिसाबले कालिकोट सदरमुकाम मान्मबाट सर्खेतसम्म १५० किलोमिटर छ। यो भाडा दरले प्रति किलोमिटर १२ रुपैयाँ भाडा यात्रुले दिँदै आएका छन। यातायात व्यवसथा बिभागले कोरोना अगावै कायम गरेको भाडा दरमा प्रतिकिलोमिटर तीन रुपैयाँ ३३ पैसा थियो।  अहिले आएर आठ रुपैयाँ ६६ पैसाले भाडा बढेको छ।  

यातायात समितिको मनपरीलाई रोक्न राज्य समेत मौन देखिएको छ। अहिलेसम्म कर्णाली राजमार्गको भाडा दर कायम गरि बिभागले पठाएको छैन। कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बिभागले भाडादर नपठाएकाले कारबाही गर्न नसकिएको प्रतिक्रिया दिए। पहिला सुर्खेतले भाडा दर कायम गरेर पठाएको भए त्यसपछि अनुगमन गर्न पनि सजिलो हुने प्रजिअ शर्माको भनाई छ।  

भाडा चर्को भएपनि प्राय मान्छे रातो प्लेलेटका बोलेरो गाडी र साना दश सिटका जिप,१३ सिटका फोर्स गाडीमा चढ्ने भएकाले अझै चर्को भाडामा पर्ने गरेका छन्। सवारी धनीहरुले साघुरो सडकका कारणले निकै जोखिम भएकाले पनि अन्तको भन्दा बढि भाडा स्वभाविक रुपले उठाउने गरेको बताउँछन्। सडक जोखिम छ। केही भएमा हाम्रो सम्पत्ति जान्छ त्यसैले पनि केही बढी लिनै पर्ने भएर लिएका छौंं सवारी धनीले खुलेआम भनिरहेका छन्। यातायात समितिले भाडा बापतको टिकेट पनि खासै दिदैनन्।  

कसैले कतै पेश गर्नुपर्छ भनेको खण्डमा मात्र टिकेट पाउने नत्र पाईँदैन। लामो दुरीका गाडीले टिकेट दिने गरेपनि छोटो दुरी अर्थात सुर्खेतसम्म जाने जिपले कहिलै पनि टिकेट दिएको पाईँदैन। कारबाहीमा परिने लगाएतका कारणले टिकेट नदिने समितिले नै सल्लाह दिएको कर्मचारीको भनाई छ। यसरी भाडा बढ्दा मनपरी हुँदा प्रशासन पनि माथिल्लो निकायको पर्खाइमा बसेको छ।  

प्रकाशित: २३ भाद्र २०७९ १५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App