९ असार २०८३ मंगलबार
image/svg+xml
अर्थ

भैँसीको मूल्य आकासियो, दूध उत्पादनमा कमी

सुर्खेत, माघ १६- सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित दूध वीरेन्द्रनगर बजारमा पुग्ने गरे पनि पछिल्लो समयमा यस क्षेत्रमा दूध उत्पादन घट्दैगएको छ। दूध उत्पादनसँगै जिल्लामा व्यावसायिकरूपमा दुग्ध उत्पादक कृषकको संख्या पनि घट्दैगएको छ।

भैँसीको मूल्य बढेपछि पशुपालन गरेर दूध बिक्री गर्ने कृषकलाई समस्या परेको गुनासो आउन थालेको छ।

केही वर्ष पहिले रु. १५-२० हजारमा पाइने भैँसीको मूल्य बढेर अहिले रु. ५० हजारको हाराहारीमा पुगेपछि सानो पुँजीमा भैँसी पालेर दूध उत्पादन गर्ने कृषक बढी मर्कामा परेका हुन्।

जिल्लामा यस्ता कृषकको निश्चित तथ्याङ्क नभए पनि सङ्ख्या धेरै मात्रामा रहेको छ। स्थानीयस्तरमा दूधालु भैँसी पाउन छाडेपछि बाहिरी जिल्लामा गएर ल्याउनेक्रम बढेकाले भैँसीको मूल्य दोब्बर हुन पुगेको कृषकहरू बताउँछन्।

यसैगरी चार-छ महिना पालेर भैँसीले केही मात्रामा दूध कम दिन थालेपछि बध गर्ने दिने प्रचलनले स्थानीय भैँसीहरू नासिँदै गएको र भैँसी पालेर दूधको व्यवसाय गर्ने कार्यमा समेत कमी आउन थालेको डेरी उद्योग सञ्चालकको भनाइ छ।

गाउँघरमा पालिएका भैँसीहरू पनि मासुका लागि बिक्री हुन थालेका छन्। जसका कारणले दूधालु भैँसी पाउन कठिन हुने र चर्को मूल्यमा किन्नुपर्ने बाध्यता रहेको गुनासो किसानहरूको छ।

मालारानीमा लामो समयदेखि डेरी सञ्चालन गर्दैआउनुभएका विनोद शाहीले पछिल्लो समयमा अकासिएको भैँसीको मूल्यले दूध उत्पादनमा कमी आएको बताए।

कृषकहरूको आर्थिक स्थिति कमजोर रहेकाले उनीहरूमा महँगो भैँसी किन्ने हैसियत नरहेको र व्यावसायिक दूध उत्पादनमा कुनै क्षेत्रबाट सहयोग पनि नभएका कारण जिल्लामा दूध उत्पादन घट्दैगएको उहाँको धारणा छ।

पहिले बजारवरिपरिका गाउँहरूबाट दूध बिक्रीवितरणका लागि आउनेगरेकामा अहिले त्योक्रम घट्दैगएको छ। "मालारानी, दहचौर, घुमखहरेसम्मका कृषकले दूध नल्याउने हो भने डेरी बन्द भएजस्तै हुन्छ"- शाहीले भने।

मालारानीका कृषकहरूले भैँसीपालन व्यवसायलाई निरन्तरता दिँदै दूध उत्पादन गरिरहेकाले बजारमा दूधको अभावलाई केही हदसम्म कम गरेको भनाइ शाहीको छ। त्यसैगरी अर्का मनकामना डेरीका सञ्चालक नवराज खत्रीका अनुसार भैँसीलाई मासुको रूपमा प्रयोग गर्न थालेपछि दूध उत्पादनमा कमी आएको हो।

भैँसीले दूध छुटाउन नपाउँदै मासुका लागि बेच्ने गरिएकाले भैँसीको सङ्ख्या घट्दैगई दूधको मात्रामा समेत कमी आएको अनुभव उहाँले सुनाउनुभयो।

दूधको मागलाई पूरा गर्न फर्म खोलेर पशुचौपाया पाल्नुपर्ने सल्लाह खत्रीको छ। दूध उत्पादनका लागि भैँसीभन्दा उन्नत मानिने गरेको गाईपालनमा वृद्धि गरिनुपर्ने आवश्यक रहेको भनाइ सचेत कृषकहरूको छ। अहिले सुर्खेतमा दैनिक तीन हजार लिटरभन्दा बढी दूध डेरीसम्म आउनेगरेको छ। जिल्लाको छिन्चु क्षेत्रमा एउटा दूध चिस्यान केन्द्र रहेको छ।

यहाँ सङ्कलित दूध काठमाडौँमा खपत हुनेगरेको छ। मालारानी क्षेत्रबाट दैनिक एक हजार तीन सय र घुमखहरे क्षेत्रबाटबाट एक हजार दुई सय लिटर दूध चिस्यानका लागि ल्याउनेगरिएको छ। विगतमा मालारानीबाट मात्रै दैनिक दुई हजार लिटरभन्दा बढी दूध चिस्यानमा आउनेगरेकामा त्यो परिमाण घटेर एक हजार २०० मा झरेको चिस्यान केन्द्रले जनाएको छ। -रासस

प्रकाशित: १६ माघ २०६६ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App