९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

बुटवलमा २ अर्बको लगानीमा आधुनिक कृषि बजार बन्दै

किसानले उत्पादन गरेका कृषि उपजको बजारसम्मको पहुँच विस्तार गर्दै निर्यात  पर्वद्धन गर्ने उद्देश्यले बुटवलमा अत्याधुनिक थोक कृषि बजार केन्द्र निर्माण गरिने भएको छ। झण्डै २ अर्बको लगानीमा बुटवल उपमहानगरपालिका १५ र १६ को सेमलार क्षेत्रस्थित कर्साघाटमा आधुनिक कृषि बजार केन्द्र बन्ने भएको हो।

कर्साघाटस्थित नदी उकास क्षेत्रको झण्डै ४२ बिगाह जमिनमा आधुनिक कृषि बजार केन्द्र निर्माण हुनेछ। जसमा कृषि उपजको संकलन, प्रशोधन, बिक्री, वितरण र भण्डार गरीने छ। केन्द्रमा १ लाख मेट्रिकटन  खाद्यान्न भण्डारण गर्न सकिने क्षमताको अन्न गोदाम र ५० हजार टन क्षमताको तरकारी भण्डारण गोदाम घर निर्माण हुनेछ।

त्यस्तै पशुपन्छी, फलफूल लगायतका कृषि उपजको भण्डारणका लागि वैज्ञानिक प्रविधिसहितको गोदामघर, बीउ भण्डारणका लागि छुट्टै गोदाम घर निर्माण गरीने छ। केन्द्रमा खाद्यान्न, फलफुल, तरकारी, पहुपन्छी तथा दुग्धजन्य उत्पादनको गुणस्तर नाँपजाँच तथा निर्धारणकालागि अत्याधुनिक प्रयोगशाला र प्रशोधन केन्द्र पनि निर्माण गरिने छ। आधुनिक कृषि बजार केन्द्रका लागि आवश्यक पर्ने सुविधा सम्पन्न भौतिक संरचना निर्माण सगै आवश्यक पर्ने सेवा सुविधाहरु केन्द्रमा उपलब्ध हुने बताइएको छ।

केन्द्र निर्माण भएपछि किसानले आफ्ना उत्पादन सोझै बजारसम्म ल्याउन सक्ने भएकाले विचौलीयाको बिगविगि हट्ने र कृषि उपजको उचित मूल्य किसानले पाउने अपेक्षा गरीएको छ। कृषि उपजको निर्यातकाकालागि समेत केन्द्र कोषेढुङ्गा सावित हुने कृषि विज्ञहरु बताउँछन्। नेलरल्याण्ड सरकारको २ अर्ब अनुदान सहयोगमा बुटवलमा आधुनिक कृषि बजार केन्द्र निर्माण हुन लागेको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए।

नेपाल सरकारको आग्रहमा नेदरल्याण्ड सरकारले सन २०१९ मै अत्याधुनिक थोक कृषि  बजार केन्द्र निर्माणकालागि सम्भाव्यता अध्ययनको लागि अनुदान दिने सम्झौता गरेको थियो। २०१९ को डिसेम्बर १७ मा पहिलो र दोश्रो चरणको सम्भा व्यता अध्ययनका लागि अनुदान दिने सम्झौता गरीएको हो। केन्द्र निर्माणका लागि बुटवल उपमहानगरको सेमलार क्षेत्रलाई उपयुक्त ठहर गरीएपनि तत्कालीन समयका बुटवलका जनप्रतिनिधि र कर्मचारीहरुकै व्यवास्था र लापरवाहीका कारण आयोजना अगाडि बढ्न सकेको थिएन।

हालै निर्वाचित नगरप्रमुख खेलराज पाण्डेले कार्यभार सम्हाले लगत्तै यो आयोजना अगाडि बढाउन पहल गरेका हुन्। यो आयोजना बुटवलबासीका लागि मात्रै नभइ समग्र नेपाली किसानहरुको हितमा रहेकाले अगाडि बढाउन पहल कदमी चालेको र आयोजनालाइ सफल बनाएरै छोड्ने नगरप्रमुख पाण्डेले बताए। केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको पनि उनले बताए।

नगरपालिकाले केन्द्र निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइसेको नगरपालिकाका प्रवक्ता शिव रानाले बताए। नगरपालिकाले सुरुमा सो जग्गा प्राप्तिका लागि स्थानीयसँग लिखित सहमति गरीसकेको छ। स्थानीयले केन्द्र निर्माणका लागि लिखित सहमति दिएपछि नगरपालिकाले आवश्यक प्रक्रिया अनुरुप विपद् व्यवस्थापन समितिको बैठकमा प्रस्ताव लगेको रानाले बताए।

जिल्ला प्रशासन कार्यालय भैरहवामा केही दिनअघि बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो जग्गा विपदका लागि प्रयोग नहुने र जोखिमपूर्ण स्थानमा नरहेकोले आधुनिक कृषि बजारका लागि उपयुक्त हुने ठहर गर्दै  सिफारिस गर्ने निर्णय गरेको थियो।

विपद् व्यवस्थापन समितिले बुटवल उपमहानगरपालिकालाई जग्गा उपलब्ध गराउन कुनै बाधा नदेखिएको भन्दै सिफारिश गरेपछि बुटवल उपमहानगरपालिकाले भूमिसुधार मन्त्रालयमा जग्गा प्राप्तिको लागि पत्र पठाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए।

प्रकाशित: ७ भाद्र २०७९ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App