१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती

बैतडीको पेट्रोल पम्पमा पेट्रोल पाइदैन तर स्थानीय बजारमा भने छ्याप-छ्याप्ती पाइन्छ। बढी मूल्य लिएर अवैध रुपमा पेट्रोल तथा डिजेल बिक्री हुँदै आएको छ। पेट्रोल पम्प बाहेक पसलहरुमा ड्रम तथा बोतलमा राखेर पेट्रोल र डिजेल बिक्री हुँदै आएको हो।

तराईबाट ड्रममा डिजेल तथा पेट्रोल ल्याएर खुला रुपमा बढी मूल्यमा बिक्री गर्ने गरिएको स्थानीयहरुले बताएका छन्। पेट्रोलियम पदार्थको खुला रुपमा बिक्री वितरण भइरहेको भए पनि नियमन गर्ने निकायले ध्यान नदिएको गुनासो बढ्दै गएको छ। जिल्लामा एक सय बढी व्यापारीले यसरी नियम विपरीत अवैध रुपमा डिजेल र पेट्रोलको कारोबार गर्दै आइरहेका छन्।

बैतडीको सतबाँझमा एउटा मात्रै भण्डारी आयल स्टोर रहेपनि व्यापारीहरूले अवैध रूपमा डिजेलपेट्रोलको पदार्थको कारोबार गर्दै आएका हुन्। जिल्ला सदरमुकाम गोठालापानी, देहिमाण्डौं, पाटन, खोड्पे, गोकुलेश्वर, खोचलेक लगायतका बजारमा दर्जनौं व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्दै आएको स्थानीयले बताएका छन्।

पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका व्यापारीहरुले महंगोमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी हिसाबले लिने गरेका छन्। पेट्रोल पम्पमा कहिले पनि पेट्रोल नपाउँदा बाहिरबाट किनेर हाल्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायी हरिश चन्दले बताए। डिजेल समेत पेट्रोल पम्पले भने अनुसार उपलब्ध नगराउँदा बाहिरबाट किन्नुपर्ने र व्यापारीहरुले भने अनुसारको पैसा दिनुपर्ने बाध्यता रही आएको निर्माण व्यवसायी मदनमोहन बिष्टले बताए।

भण्डारी आयल स्टोरले लामो समयदेखि डिजेल मात्रै बिक्री गर्दै आएको छ। आयल स्टोरलाई पेट्रोल ल्याउन स्थानीय प्रशासनले बेलाबेला आग्रह गर्दै आएको छ। तर सुरुको एकआधपटक बाहेक पेट्रोल ल्याएको छैन। जिल्लामा १ सय भन्दा बढी व्यापारीले अवैध रुपमा डिजेल र पेट्रोलको कारोबार गर्दै आएको खुलेको छ। आयल स्टोरले तेल ल्याउन छोडेपछि बजारमा मंहगो मूल्यमा पेट्रोल किन्नु पर्ने बाध्यता छ।

प्रकाशित: ४ भाद्र २०७९ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App