२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पसलपिच्छे म्याद नाघेका वस्तु

फाइल तस्बिर।

बैतडीका स्थानीय बजारमा पसलपिच्छे अखाद्य तथा म्याद नाघेका वस्तु फेला पर्न थालेका छन्। संयुक्त अनुगमन टोलीले चाडपर्व लक्षित गरेर गरेको बजार अनुगमनमा पसलपिच्छे अखाद्य वस्तु भेटिएका हुन्।

जिल्लाका अधिकांश पसलमा म्याद नाघेका खाद्य, पेय पदार्थ र अन्य सामग्री भेटिने गरेका छन्। ग्रामीण क्षेत्रका बजारमा मात्र होइन सदरमुकाम आसपासमै म्याद नाघेका गुणस्तरहीन वस्तु भेटिने गरेका छन्। बजार अनुगमन नभएको उपभोक्ताको गुसासोपछि महिनादेखि जिल्लामा अनुगमन थालिएको छ।

संयुक्त बजार अनुगमन समितिले शुक्रबार जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीन अधिकारीले बताए। जिल्लाको मोतीनगर, बाचपानी, ढोल्यामोड लगायतका क्षेत्रमा बजार अनुगमन गरिएको अधिकारीले बताए।

बजार अनुगमनका क्रममा २९ हजार ९ सय ८० रुपैयाँ बराबरको अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ। अनुगमनका क्रममा मूल्य सूची नराखेका, अखाद्य सामग्री बिक्रीवितरण गरेका, लेबल नभएका सामग्री बिक्री वितरण गरेका ६ जना व्यापारीबाट ५० हजार जरिवाना असुल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।

यसअघि गएको साउन अन्तिम साता सिल्लेगाडा, खोचलेक लगायतको बजारमा अनुगमनका क्रममा २३ हजार बराबरको अखाद्य सामग्री नष्ट गरिएको थियो भने ८ जना व्यापारीबाट ६५ हजार जरिवाना असुल गरिएको थियो। अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने, उपभोक्ताहरुलाई सचेत बनाउने, महंगी र कालोबजारी नियन्त्रण गर्ने उद्देश्यका साथ बजार अनुगमन गर्ने गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ।

बजार अनुगमनका क्रममा व्यापारीहरुलाई सम्बन्धित निकायमा दर्ता हुन, मूल्य सूची राख्न र म्याद गुज्रेका सामग्री बिक्री वितरण नगर्न निर्देशन दिइएको प्रशासनका सूचना अधिकारी भारतीले बताए। बजार अनुगमनमा धेरैजसो पसलमा खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएका, पेय पदार्थ, कस्मेटिक सामग्रीहरु समेत म्याद नाघेका, कतिपय पसलहरु सम्बन्धित निकायमा दर्ता नभएका पाइएका छन्।

उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ। बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ। चाडपर्वलाई लक्षित गर्दै सुरु गरिएको अनुगमन कार्यलाई तिहारसम्मै निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०७९ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App